घाइते अवस्थामा भेटिएको चितुवाको अगाडिको एउटा खुट्टा भाँच्चिएको छ ।
बैतडी — बैतडीमा घाइते अवस्थामा भेटिएको चितुवाको दुई दिनपछि उद्धार गरिएको छ ।
जिल्लाको सिगास गाउँपालिका–१ खरकेउडास्थित खोल्सामा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरेर डडेल्धुरा पुर्याइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताए ।
आइतबार घाइते अवस्थामा चितुवा भेटिएको जानकारी प्राप्त भएपछि सोमबार साँझ राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय शुक्लाफाँटाबाट प्राविधिकहरुको टोली मगाएर चितुवाको उद्धार गरिएको प्रमुख गिरीले बताए ।
डिभिजन वन कार्यालयका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारी र डडेल्धुराबाट आएका पशु चिकित्सकसहितको टोलीले घाइते चितुवाको उद्धार गरेको हो । घाइते अवस्थामा भेटिएको चितुवाको अगाडिको एउटा खुट्टा भाँच्चिएको छ । डार्ट गरेर चितुवालाई नियन्त्रणमा लिइएको प्रमुख गिरीले बताए ।
