पार्टी प्रवेशपछि जगन्नाथ चौधरीले आफूले निरन्तर उठाउँदै आएका मुद्दा र रास्वपाले अघि सारेका एजेन्डाबीच स्पष्ट समानता रहेकाले नयाँ यात्रामा जोडिने निर्णय गरेको बताए ।
कैलाली — कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
मंगलवार धनगढीस्थित रास्वपाको पार्टी कार्यालयमा रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु र कैलाली–५ का उम्मेदवार डा. आनन्दबहादुर चन्दले चौधरीलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेशपछि चौधरीले आफूले निरन्तर उठाउँदै आएका मुद्दा र रास्वपाले अघि सारेका एजेन्डाबीच स्पष्ट समानता रहेकाले नयाँ यात्रामा जोडिने निर्णय गरेको बताए ।
'मैले उठाएका सवालहरू र रास्वपाले अघि सारेका विषयबीच गहिरो सम्बन्ध देखेँ। मेरा धेरै सहकर्मीहरू यसअघि नै रास्वपामा आबद्ध भइसकेका थिए, तर परिस्थितिका कारण म त्यसबेला सहभागी हुन सकेको थिइनँ। अहिले भने साझा लक्ष्य र उद्देश्यलाई सशक्त रूपमा अघि बढाउन पार्टीमा आबद्ध भएको हुँ,' उनले भने, 'अब हामी सबै मिलेर जनताका मुद्दालाई परिणाममा पुर्याउने दिशामा काम गर्नेछौं ।'
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली–५ मा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले पाँच हजार हाराहारीमा मत प्राप्त गरेका थिए । चौधरीले आफूले पाएको जनसमर्थनलाई अब रास्वपामार्फत अघि बढाउने र साझा एजेन्डालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
