आइतबार रास्वपा बैतडीका उम्मेदवार हरिमोहन भण्डारीले आयोजना गरेको र्याली र कोणसभामा आचारसंहिताविपरीत धेरै सवारी साधनको प्रयोग गरेको पाइएको हो ।
What you should know
बैतडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीमा अनुमतिबिना ठूलो संख्यामा सवारी साधन प्रयोग गरेर आचारसंहिताविपरीत कार्य गरेको पाइएको छ । बैतडीका उम्मेदवार हरिमोहन भण्डारीले आचारसंहिताको उल्लंघन गर्दै मुख्य निर्वाचन अधिकृतको अनुमति नलिई ठूलो संख्यामा हलुका सवारी साधनको प्रयोग गरी र्याली र कोणसभा आयोजना गरेका हुन् ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालय बैतडीले फागुन ५ मा एक सूचना प्रकाशित गर्दै उम्मेदवारले मुख्य निर्वाचन अधिकृतबाट अनुमति लिई बढीमा दुईवटा दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधनमात्र प्रयोग गर्ने भनेर उल्लेख गरेको छ ।
यस्तै स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला नगर्ने र गर्नैपरे २४ घण्टा अगाडि सभा, जुलुस गर्ने स्थानको स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउने आचारसंहितमा उल्लेख छ ।
आइतबार रास्वपा बैतडीका उम्मेदवार भण्डारीले आयोजना गरेको र्याली र कोणसभामा आचारसंहिताविपरीत धेरै सवारी साधनको प्रयोग गरेको पाइएको हो । उम्मेदवार भण्डारीले र्यालीमात्रै आयोजना गर्ने भनेर अनुमति लिएको र कोणसभाबारे कुनै जानकारी नगराएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत विनोद भट्टराईले जानकारी दिए । ‘आचारसंहिता विपरीत सवारीसाधनको प्रयोग गरेको बारे गुनासो आएको र यसबारे उम्मेदवारलाई फोन गरेर सम्झाएका थियौं,’ उनले भने, ‘थप यसबारे बुझ्दै छौं । आचारसंहिता उल्लंघन गरेको पाइएमा अवश्य पनि कारबाहीका लागि प्रक्रिया अगाडि बढाउँछौं ।’
र्याली र कोणसभामा २० बढी चारपांग्रे र आठ बढी दुईपांग्रे सवारीसाधन झण्डा टाँगेर प्रयोग गरिएका थिए । उम्मेदवार भण्डारीले जिल्लाको सिल्लेगडादेखि सतबाँझ, देहीमाडौं, शाहीलेक, गोठलापानी हुँदै झुलाघाटसम्म र्याली र कोणसभा आयोजना गरिएको बताए ।
