धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु

सन् २०३६ मा टी–२० विश्वकप क्रिकेट उपाधि उचाल्ने खेलाडी तयार गर्ने उद्देश्यसहित गो ड्रिमर्सले उक्त अभियानको सुरुवात गरेको हो ।

फाल्गुन ११, २०८२

अर्जुन शाह

'Grassroots to Glory' campaign launched from Dhangadhi

What you should know

धनगढी — नेपाललाई क्रिकेट विश्वकप दिलाउने उद्देश्यसहित सोमबार धनगढीबाट ‘च्याम्पियन्स ३६– ग्रासरुट टू ग्लोरी’ अभियान सुरु गरिएको छ ।

उक्त अभियानले आगामी १० वर्षमा विश्वकप जित्ने लक्ष्य राखेको छ । सन् २०३६ मा टी–२० विश्वकप क्रिकेट उपाधि उचाल्ने खेलाडी तयार गर्ने उद्देश्यसहित गो ड्रिमर्सले उक्त अभियानको सुरुवात गरेको हो । 

पहिलो चरणमा उक्त अभियान अन्तर्गत गो ड्र्रिमर्स र ऐश्वर्य विद्या निकेतनबीच १० वर्षे रणनीतिक सहकार्यको घोषणासमेत गरिएको छ । ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त र गो ड्र्रिमर्सका अध्यक्ष सुवाश शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

अभियानअन्तर्गत विद्यालय तथा समुदायस्तरबाट क्रिकेट प्रतिभा खोजी तथा छनोट प्रक्रिया सुरु गरिनेछ । नियमित ट्रायल, अन्तरविद्यालय प्रतियोगिता तथा विशेष छनोट कार्यक्रममार्फत सम्भावनाशील खेलाडी पहिचान गरिने उल्लेख छ ।

छनोट भएका खेलाडीलाई व्यवस्थित र व्यावसायिक प्रशिक्षण प्रदान गर्दै नेपाल क्रिकेट संघबाट विभिन्न स्तर पार गरेका प्रशिक्षक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रशिक्षण कार्यक्रम अन्तर्गत प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टीमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइनेछ । खेलाडीलाई आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेलमार्फत दीर्घकालीन रूपमा तयार गरिने योजना छ । 

खेलाडीहरुलाई नेपालभित्र विभिन्न स्तरका प्रतियोगितामा नियमित सहभागिता गराइनुका साथै भारतका प्रतिष्ठित क्रिकेट एकेडेमी र प्रतियोगितामा प्रशिक्षण तथा मैत्रीपूर्ण खेलको अवसर उपलब्ध गराउने भनिएको छ । आवश्यकता अनुसार अन्य क्रिकेट राष्ट्रहरूमा समेत प्रशिक्षण क्याम्प तथा अन्तर्राष्ट्रिय भ्रमणको व्यवस्था गरिने र आमन्त्रण गरिने योजना रहेको उल्लेख गरिएको छ । 

धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणको योजना अघि बढिरहेको बेला सुरु गरिएको यस अभियानले क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको शाहीले बताए । गो ड्रिमर्स खेल विकास कार्यक्रम सञ्चालन गरी युवा प्रतिभा पहिचान र विकासमा सक्रिय संस्था हो ।  

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully