बैतडीमा आचारसंहिताविपरीत सवारी साधनको प्रयोग

जिल्लामा स्वतन्त्रबाहेक सबै उम्मेदवारले प्रचारप्रसारमा सवारी साधनको प्रयोग गरेका छन् ।

फाल्गुन ९, २०८२

मोहन चन्द

Use of vehicles in violation of code of conduct in Baitadi

बैतडी — अगामी प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा एक स्वतन्त्रसहित १० राजनीतिक दलका उम्मेदवार चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

प्रचारमा होमिएका दुई राजनीतिक दलका उम्मेदवारबाहेक सबैले आचारसंहिताको उल्लंघन गर्दै मुख्य निर्वाचन अधिकृतको अनुमति नलिई हलुका सवारी साधनको प्रयोग गरिरहेको पाइएको हो ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालय बैतडीले एक सूचना प्रकाशित गर्दै उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृतबाट अनुमति लिई बढीमा दुईवटा दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधनमात्र प्रयोग गर्ने भनेर उल्लेख गरेको छ । यदि अनुमति नलिएको खण्डमा आचारसंहिताविपरीत भएको मान्न सकिने सूचनामा उल्लेख छ । 

शनिबारसम्म नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्ट र नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले मात्र मुख्य निर्वाचन अधिकृतको अनुमति लिई सवारी साधन प्रयोग गरेको मुख्य सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तले जानकारी दिए । जिल्लामा स्वतन्त्रबाहेक सबै उम्मेदवारले प्रचारप्रसारमा सवारी साधनको प्रयोग गरेका छन् । 

सबै उम्मेदवारलाई सवारी साधनको अनुमति लिनु भनेर जानकारी गराइसकेको र अनुमति लिए नलिएको बारे अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । अनुमति नलिइ सवारी साधन प्रयोग गरेको पाइएमा कारबाही गरिने पनि उनले बताए ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully