शनिबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराको आयोजनामा तथा लू निभाः बाल सरोकार समूहको सहकार्यमा ‘निर्वाचन आचारसंहिता तथा बालअधिकारसम्बन्धी कार्यक्रम’मा ८ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको हो ।
What you should know
डडेलधुरा — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेलधुराका राजनीतिक दल र सरोकारवालाहरूले प्रचारप्रसारका कुनै पनि गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
शनिबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराको आयोजनामा तथा लू निभाः बाल सरोकार समूहको सहकार्यमा ‘निर्वाचन आचारसंहिता तथा बालअधिकारसम्बन्धी कार्यक्रम’मा ८ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको हो । निर्वाचनसाग जोडिएका गतिविधिमा बालबालिकालाई प्रयोग नगर्ने सहमतिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित अन्य सरोकारवालाहरू सहभागी भएका थिए । सहमतिअनुसार बालबालिकालाई जुलुस, र्याली, प्रचारप्रसार, पर्चा–पोस्टर टाँस्ने वा बोक्नेजस्ता काममा श्रमिकका रूपमा प्रयोग नगर्ने उल्लेख छ ।
त्यस्तै राजनीतिक आस्थाका नाममा द्वन्द्व सिर्जना गर्ने, हुलहुज्जत वा झगडामा बालबालिकालाई संलग्न नगराउने, निर्वाचनसम्बन्धी गतिविधिमा हतियार ओसारपसार वा बोकाउने काम नगर्ने प्रतिबद्धता पनि जनाइएको छ । मतदान बहिष्कारका नाममा बाटो अवरुद्ध गर्ने, मतदातालाई अलमल्याउने, विद्यालयका विद्यार्थी समूह परिचालन गर्ने, चन्दा संकलन, जासुसी, सुराकी वा सूचना वाहकका रूपमा प्रयोग नगर्ने विषयसमेत सहमतिमा समेटिएको छ ।
लू निभाः बाल सरोकार समूह डडेलधुराका कार्यक्रम संयोजक धर्मसिंह ऐरले निर्वाचन प्रक्रियामा बालबालिकाको प्रयोग बालअधिकारको उल्लंघन हुने बताए । अधिवक्ता युवराज जोशीले बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गर्न कानुनले निषेध गरेको स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले उम्मेदवार तथा राजनीतिक दलको सुरक्षाका लागि प्रशासन तयार रहेको उल्लेख गर्दै आचारसंहिता उल्लङ्गन भए कानुनी कारबाही हुने चेतावनी दिए । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले डडेलधुरामा अन्य जिल्लाको तुलनामा आचारसंहिता पालना सन्तोषजनक रहेको दाबी गर्दै सबै पक्षको सहयोगले निर्वाचन प्रक्रिया अझ व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
