निर्वाचन लगत्तै शुक्लाफाँटामा बाघ गणना

निकुञ्ज कर्मचारी समेत निर्वाचन कार्यमा खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय भएको वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।

फाल्गुन ५, २०८२

भवानी भट्ट

Tiger census in Shuklaphanta after election

What you should know

कञ्चनपुर — प्रतिनिधिसभा सदस्य निर्वाचन लगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण स्थलगत कार्यदलको मंगलबार बसेको वैठकले निर्वाचन लगत्तै बाघ गणना गर्ने निर्णय गरेको हो । 

निकुञ्ज कर्मचारी समेत निर्वाचन कार्यमा खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय भएको वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए । ‘निर्वाचन र बाघ गणना एकै समय परेकाले पछाडि सारिएको हो,’ उनले भने, ‘कर्मचारी निर्वाचनमा खटिने भएकाले जनशक्ति अभाव हुने देखिन्छ ।’ 

राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाँटासंगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिने छन् । शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स नामकरण गरिएको क्षेत्रलाई २ गुणा २ किलोमिटरका २ सय ६० ग्रीडमा विभाजन गरिएको छ । बाघ विचरण गर्ने सम्भावित क्षेत्रको पहिचान गरेर हरेक ग्रीडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिनेछ । 

सन २०२२ को गणनामा पनि यिनै क्षेत्रमा क्यामेरा जडान गरिएको थियो । त्यतिबेला लालझाडी र जोगबुडामा बाघ देखिएको थियो । उक्त गणनामा यस कम्प्लेक्समा ३६ वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । क्यामेरामा कैद भएका १६ पोथी र १२ भाले सहित २८ र विश्लेषणका आधारमा ८ गरि ३६ वयस्क बाघ रहेको सार्वजनिक गरिएको थियो । 

शुक्लाफाँटामा हरेक वर्ष बाघ गणना गरिँदैं आएको छ । चोरी शिकार हुने जोखिम भएका क्षेत्रमा गणना गरिँदैं आएको हो । गत वर्ष गरिएको गणना अनुसार बाघको संख्या ४३ पुगेको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully