बन्दको हल्लाले धनगढीका अधिकांश निजी विद्यालय खुलेनन्

निजी विद्यालयहरुले असुरक्षाको कारण देखाए पनि धनगढीका केही सामुदायिक विद्यालय भने सञ्चालनमा रहेका छन् ।

फाल्गुन ५, २०८२

रञ्जना बिसी

Most private schools in Dhangadhi did not open due to rumors of a bandh.

कैलाली — नेपाल बन्दको हल्लाले मंगलबार कैलालीका अधिकांश विद्यालय खुल्न सकेका छैनन् । सोमबार साँझ एक्कासी बन्दको हल्ला चलेपछि मंगलबारका लागि धनगढीका अधिकांश निजी विद्यालयले पठनपाठन स्थगित गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्वारा आह्वान गरिएको बन्दका कारण सर्वसाधारणको दैनिकी पनि प्रभावित भएको छ। विद्यालयहरूले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएका छन् । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीले सूचना जारी गर्दै उत्पन्न परिस्थितिलाई मध्यजर गर्दै एक दिनका लागि पठनपाठन स्थगित गरेको जनाएको छ ।

यस्तै एश्वर्या विद्या निकेतनले पनि विद्यालय बन्द भएको जानकारी दिएको छ । ग्यालेक्सी बोर्डिङ, एलाइन्स, स्टििफन,इ–चाइल्डलगायत अधिकांश विद्यालय मंगलबार बन्द रहेका छन् । केही विद्यालयले मंगलबार  विद्यालयमा पुगिसकेका विद्यार्थीलाई पनि बन्द भन्दै फर्काएका छन् ।  

निजी विद्यालयहरुले असुरक्षाको कारण देखाए पनि धनगढीका केही सामुदायिक विद्यालय भने सञ्चालनमा रहेका छन् । धनगढीको त्रिनगर माध्यामिक विद्यालयले नियमित कक्षा संचालन भइरहेको जनाएको छ।

विद्यालय मात्र होइन नेपाल बन्दको हल्लाले यात्रु पनि अस्तव्यस्त भएका छन् । धनगढीकी राधिका पालले आज नेपालगञ्ज जानुपर्ने भए पनि नेपाल बन्द भनेर रोकिएको बताइन् । 

जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले सुरक्षाका दृष्टिकोणले जिल्लाको अवस्था सामान्य रहेको बताए ।  

रञ्जना बिसी

Link copied successfully