जन्ती बस दुर्घटनाका घाइते भन्छन्- 'अरूलाई धकेलेर हाम फालेँ'

संयोगवश, उत्तिसको रुखलाई समात्न पुगेकाले आफ्नो ज्यान बचेको उनी बताउँछन् ।

माघ २३, २०८२

मोहन चन्द

Janti bus accident victim says - 'I pushed others and jumped'

What you should know

बैतडी — बैतडीको पुर्चौडी नगरपालिका–७, भौनी गाउँ बिहीबार साँझदेखि असामान्य रूपमा शान्त छ । केही घण्टाअघिसम्म विवाहको रौनक, हाँसो–ठट्टा र बाजागाजाको आवाजमा गुन्जिएको त्यही गाउँ अहिले शोकमा डुबेको छ ।

जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटनामा १३ जनाले ज्यान गुमाएपछि भौनी गाउँ शोकमग्न बनेको हो ।

बझाङको बित्थडचिर गाउँपालिकाको नौणसा गाउँबाट बिहीबार दिउँसो करिब १२ बजे बेहुली लिन जन्ती लिएर आएको बस र जिप पुर्चौडीको गिर्जाबगर बसपार्कमा रोकिएका थिए ।

बसपार्कबाट करिब १० मिनेट पैदल हिँडेपछि जन्ती भौनी गाउँ पुग्यो । परम्परागत कर्मकाण्डसँगै विवाह सम्पन्न भयो । बेहुली लिएर जन्तीहरू रमाइलो गर्दै पुनः बसपार्क फर्किए । केही स्थानीय पनि निम्तो मानेर जन्तीको बसमै चढे ।

फर्किने क्रममा जिपमा बेहुला–बेहुली, केही जन्ती र बेहुलीका दाजु सवार थिए । बसमा भने जन्ती र स्थानीय गरेर अत्यधिक भिड थियो । बसमा ठाउँ नपाएर बेहुलीका काका अमरराज जोशी ढोकाको पछाडि उभिएका थिए ।

'बस भरिएको थियो,' उनले भने, 'केही मान्छे बाटोमै झर्ने भएकाले म ढोकामै उभिएको थिएँ ।'

बस गिर्जाबगरबाट करिब ८–९ किलोमिटर अगाडि पुर्चौडी–७ कै बडगाउँ घुम्ती पुगेपछि अचानक अवस्था बिग्रियो । 'घुम्तीमा बस अलि रोकिएको महसुस भयो,' जोशी भन्छन्, 'बाहिर हेर्दा बस पछाडि सर्दै सडकछेउतिर गएको देखेँ । बस खस्छ भन्ने थाहा पाएपछि ढोकामा उभिएका अरूलाई धकेलेर म बाहिर हाम फालेँ ।'

हाम फाल्दा उनी सडकछेउमा परे । त्यहाँबाट लड्दै करिब १५ मिटर तल भिरमा पुगे । संयोगवश, उनले एउटा उत्तिसको रुखलाई समात्न सके । 'त्यही रुखले ज्यान बचायो,' उनी सुनाउँछन्, 'होस खुलेपछि घरमा पुर्‍याएका रहेछन् ।'

तर त्यही बेला उनलाई सबैभन्दा ठूलो पीडादायी खबर सुनाइयो‍- आफूसँगै बेहुली लिन गएका बेहुलीका भाइ सुशीलसहित अरु जन्ती अब संसारमा रहेनन् ।

'त्यो दृश्य अझै आँखाबाट हटेको छैन,' जोशी भन्छन्, 'नहुनुपर्ने घटना भयो । साह्रै दुःख लागेको छ।'

पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully