जन्ती बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

माघ २२, २०८२

वसन्तप्रताप सिंह

Janti bus accident update: Death toll reaches 8

बझाङ — बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा–७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी-७ कै बडगाउँ घुम्तीमा दुर्घटना भएको हो ।

पवनदूत यातायातको सुपप्र ०२-००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८  जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपककुमार रायले बताए ।

मृतकमा एक महिला र सात पुरुष छन् । मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्बी नगरपालिका-७ का ४० वर्षीय बसन्तराज रतला र बैतडी पुर्चौडी-७ का ४० वर्षीया पुष्पा अवस्थी रहेकाे डीएसपी रायले बताए । ४५ जनाको उद्धार गरी कोटीला स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ । 

बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेकाले थप विवरण आउन बाँकी छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully