‘भत्ता’ बुझ्ने उमेरमा नागरिकता

दुवै जना नागरिकता अभावमा राज्यबाट मिल्ने सेवा–सुविधाबाट वञ्चित थिए । जीवनको उत्तरार्द्धमा नागरिकता पाएर दुवै अहिले खुसी छन् ।

माघ २२, २०८२

तर्कराज भट्ट

Citizenship at an age when you understand 'allowance'

What you should know

डडेल्धुरा — सामाजिक सुरक्षा भत्ता बुझ्ने उमेरमा जिल्लाका दुई व्यक्तिले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासनले बुधबार ७४ र ७० वर्षका दुई जनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले नागरिकता प्रदान गरेका हुन् । दुवै जना नागरिकता अभावमा राज्यबाट मिल्ने सेवा–सुविधाबाट वञ्चित थिए । जीवनको उत्तरार्द्धमा नागरिकता पाएर दुवै खुसी छन् । 

सोलुखुम्बुबाट आएर चार दशकभन्दा लामो समयदेखि डडेल्धुरामा बसोबास गर्दै आएका एनबी तामाङले नागरिकता पाएका हुन् । ०३५ सालमा यहाँ आएका तामाङले नागरिकता बनाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले जानकारी दिए । २००८ चैत ३० गते जन्ममिति भएका तामाङ अहिले अमरगढी–५ मा बस्दै आएका छन् । नागरिकतामा उनको स्थायी ठेगाना अमरगढी नगरपालिका–५, डडेल्धुरा नै उल्लेख गरिएको छ । 

नागरिकता पाएपछि आफू पनि नेपाली नगारिक बनेको तामाङले बताए । ‘पहिले नागरिकता आवश्यक हुन्छ भन्ने थाहा भएन,’ उनले भने, ‘अब बल्ल वृद्धभत्ता पाइन्छ, बुढेसकालमा सरकारले हेर्छ भन्ने थाहा पाएर नागरिकता बनाएको हुँ ।’ पूर्वी नेपालका विभिन्न ठाउँमा केही समय बिताएपछि सडक निर्माण लगायतका काममा मजदुरका रूपमा काम गर्दा गर्दै देश डुलेको उनले बताए । पछिल्लो ४० वर्षदेखि डडेल्धुरामै बसेर विभिन्न ठाउँमा मजदुरी गरेर गुजारा गर्दै आएको उनले बताए । तामाङकी श्रीमतीको निधन भइसकेको छ । सन्तान छैनन् । 

गन्यापधुरा–३ का गगनसिंह खड्काले पनि नागरिक प्राप्त गरेका हुन् । लामो समय भारतका विभिन्न सहरमा मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका थिए । उनी लामो समय भारतमा बसेर जीवनको उत्तरार्द्धमा स्वदेश फर्किएका हुन् । २०१२ माघ १५ गते जन्मिएका थिए । उनी २०२८ सालमा भारत गएका थिए । ५६ वर्षसम्म भारतका विभिन्न स्थानमा काम गरेका थिए । पछिल्लो समय गुजरातमा कार्यरत थिए ।

नेपाल फर्किएको एक सातामात्रै भएको खड्काले बताए । यहाँ आएपछि सबैले नागरिकता बनाउनुपर्छ भनेर सुझाव दिएपछि जिल्ला प्रशासन आएको उनले बताए । ‘भारतमा नेपाली नागरिकताको आवश्यकतै परेन,’ उनले भने, ‘नेपाल आएपछि बुढेसकालमा भत्ता पनि पाइन्छ भनेर नागरिकता बनाएको हुँ ।’ अविवाहित उनले लामो समय काम गरेको कम्पनी अर्को स्थानमा सरेपछि नेपाल फर्किएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी ओलीले नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार सुनिश्चित गर्न कार्यालय प्रतिबद्ध रहेको बताए । ‘लामो समय नागरिकताविहीन भएर बस्नुपरेका नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको हो,’ उनले भने । वंशजका आधारमा नागरिकता पाएसँगै उनीहरू सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा र अन्य राज्य सुविधाको पहुँचमा पुगेका उनले बताए ।

तर्कराज भट्ट

Link copied successfully