घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
बैतडी — बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा–७ को भौनीबाट जन्ती लिएर बझाङ फर्किंदै गरेको बस पुर्चौडीकै सोही वडाको बडगाउँ घुम्तीमा दुर्घटना भएको हो ।
पवनदूत यातायातको सुपप्र ०२-००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ४ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपककुमार रायले जानकारी दिए ।
मृत्यु हुनेमा ४ जनाको मात्र नाम र ठेगाना खुलेको छ । मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका– ७ बस्ने ४० वर्षीय केशव जोशी, सोही ठाउँका १३ वर्षीय अशोक जोशी, ३५ वर्षीय बसन्त जोशी र केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट रहेका डीएसपी रायले बताए । ४५ जनाको उद्धार गरी कोटीला स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
