समयमै खोप लगाउँदा दीर्घकालमा गम्भीर रोगको जोखिम घट्ने भएकाले समुदाय, विद्यालय र अभिभावकलाई अभियानमा सहकार्य गर्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
What you should know
डडेल्धुरा — जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार माघ २७ देखि सञ्चालन हुने यो अभियान माघ २९ सम्म जारी रहनेछ ।
स्वास्थ्य कार्यालयले मंगलबार जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको छलफलमार्फत अभियानको तयारी र लक्षित समूहबारे जानकारी दिएको हो । विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत जिल्लाभर १ हजार ५ सय १६ किशोरीलाई खोप प्रदान गरिनेछ ।
स्वास्थ्य कार्यालय प्रमुख केशरबहादुर साउँदका अनुसार सातवटै स्थानीय तहका कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइन लागेको हो । यससँगै अघिल्लो वर्षको अभियानमा छुटेका किशोरीहरूलाई पनि यस अभियानमा समेटिने उनले बताए ।
गत वर्ष खोप लिन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यसपटक खोप दिने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लास्तरमा आवश्यक खोप, जनशक्ति र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
कार्यालयका अनुसार कक्षा ६ मा अध्ययनरत १ हजार ४ सय ४३ छात्रा, गत वर्ष छुटेका कक्षा ७ देखि १० का ३४ जना, विद्यालय नजाने १० वर्ष उमेरका २२ जना तथा ११ देखि १४ वर्ष उमेर समूहका १७ किशोरीलाई खोप लगाइनेछ । अभियान सञ्चालनका लागि १ सय २१ जना स्वास्थ्यकर्मी र १ सय ५१ स्वयंसेवक परिचालन गरिने छन् ।
समयमै खोप लगाउँदा दीर्घकालमा गम्भीर रोगको जोखिम घट्ने भएकाले समुदाय, विद्यालय र अभिभावकलाई अभियानमा सहकार्य गर्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
