अहिलेसमेत १० पटक ‘म्यादी प्रहरी’ बनेका ढुंगाना तीन दशकका राजनीतिक घटनाक्रमको साक्षी बनेका छन् ।
What you should know
अछाम — अछामको मंगलसेन–५ का टंकप्रसाद ढुंगाना १८ वर्षको उमेरमा पहिलो पटक ०४८ मा ‘म्यादी’ प्रहरीमा भर्ती भएका थिए । ३४ वर्षपछि पनि उनी निर्वाचन प्रहरीमा भर्ती भएका छन् ।
‘निर्वाचनका बेला भर्ती गरिने अस्थायी प्रहरीलाई पहिले म्यादी भनिन्थ्यो,’ उनले भने, ‘अहिले निर्वाचन प्रहरी भन्छन् ।’ बहुदलदेखि जेन–जीकालसम्म उनले देखेको परिवर्तन यिनै शब्द हुन् ।
पहिलो पटक भर्ती हुन जाँदा आमा–बुबाले दहीचामलको टीका लगाएर बिदाइ गरेका थिए । यस पटक तीन नाति–नातिनाले घर आउँदा ‘मिठाई ल्याइदिनु है बाजे’ भनेर पठाए । ‘अहिलेसँगै तालिम लिनेले पनि बाजे भन्छन्,’ उनले सुनाए, ‘म्यादी जीवनमा थुप्रै छोरा–नाति उमेरका साथी बनेका छन् ।’ परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । छोराछोरी चुनावका बेला घरमै बस्न आग्रह गर्छन् । जेठा छोरा पनि पढाइ पूरा गरेर घरमै छन् । कान्छा छोरा इन्जिनियरिङ पढिरहेका छन् ।
‘दुई छोरीबाट तीन नाति–नातिना छन्,’ उनले भने, ‘उनीहरूले पनि अब म्यादी प्रहरी बन्न पर्दैन भन्छन् ।’
यस पटकको निर्वाचनमा आफ्नो ‘म्यादी’ यात्राको अन्तिम भर्ती हुने उनले बताए । ‘नियमले ५४ वर्षको उमेरसम्म पाइने भएकाले यस पटक पनि अवसर गुमाइनँ, मैले कति पटक जोखिम मोलेर मतपत्र जोगाएँ,’ उनले भने, ‘देशले मलाई कति सम्झन्छ ? त्यो समयले बताउला ।’
अहिलेसमेत १० पटक ‘म्यादी प्रहरी बनेका ढुंगाना तीन दशकका राजनीतिक घटनाक्रमको साक्षी बनेका छन् । हरेक चुनावमा निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रमा खटिने ढुंगानाले चुनावी गतिविधि नजिकबाट नियालेको बताए । उनी २९ वैशाख ०४८ मा भएको निर्वाचनमा पहिलो पटक म्यादी प्रहरी बनेका थिए । बहुदलपछिको पहिलो आमनिर्वाचनमा सुरक्षा जिम्मेवारी निर्वाह गर्दा बेग्लै अनुभव गरेको उनले सुनाए । ‘मतपेटिका र मतदानस्थलको सुरक्षा गर्ने जिम्मेवारी थियो,’ उनले भने, ‘त्यतिबेला धेरै जनाले पहिलो पटक मताधिकार प्रयोग गर्न पाएकाले उत्साह, डर र अब के हुन्छ भन्ने चिन्ता देखिन्थ्यो ।’
०५१ को मध्यावधि निर्वाचनका बेला पहिलो पटक तनाव र अस्थिरता देखे । उनी दोस्रो पटक म्यादी प्रहरी बनेर खटिएका थिए । उनका अनुसार राजनीतिक अस्थिरता र धाँधलीले ज्यानकै असुरक्षा हुने भन्दै म्यादी नबन्न परिवारको दबाब थियो । तर उनी रोकिएनन् । ‘मैले पहिलो पटक दलको अस्थिरता, तनावपूर्ण माहोल त्यही चुनावमा देखें,’ उनले भने, ‘मतदाताबीच मनमुटाव देखियो, नारा चर्का भए मतदान केन्द्र जोगाउनु नै धेरै गाह्रो भएको थियो ।’
०५४ मा स्थानीय निकायको निर्वाचन भयो । त्यसबेला तेस्रो पटक म्यादी प्रहरी बने । स्थानीय निकायको निर्वाचनमा भने फरक दृश्य देखेको उनी सुनाउँछन् । ‘त्यसमा आफ्नै गाउँ टोलका मान्छे उम्मेदवार बनेका थिए,’ उनले भने, ‘प्रचारमा हिँड्न आग्रह गरेर म्यादी प्रहरी नबन्न पनि अनुरोध गरे ।’ त्यसबेलादेखि नै सर्वसाधारणले आफ्नो गाउँ विकासको कुरा गर्न थालेको उनले बताए । ‘बाटो, कुलेसो, खानेपानीका एजेन्डा बोकेर उम्मेदवार मत माग्थे,’ उनले भने ।
०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचन ढुंगानाका लागि ऐतिहासिक रह्यो । दस वर्षपछि चौथो पटक म्यादी प्रहरी बने । जनताले पहिलो पटक ‘राजा नभएको नेपाल’ का लागि मतदान गरे । पहिलो संविधानसभा सदस्य निर्वाचनमा उत्साहसँगै डर पनि देखे । ‘देशमा द्वन्द्व र अस्थिरता थियो । मतदान गर्न जाँदा ज्यान जोखिम पर्ने चर्चा चलेको थियो,’ उनले भने, ‘परिवारले म्यादी प्रहरी बन्नबाट रोक्ने प्रयास गरे पनि मानिनँ ।’
त्यसबेला उनको घरछेउमै रहेको अछाम दरबार तत्कालीन विद्रोही माओवादीले ध्वस्त बनाएका थिए । माओवादी आक्रमणबाट सयौंको मृत्यु भएको थियो । ‘चुनाव खतरनाक छ, तिमी अझै जवान छौं, जस्तो काम गरी पनि खान सक्छौ भनेर सम्झाउँथे,’ उनले सम्झिए, ‘अप्ठ्यारो बेलामा निर्वाचन सुरक्षामा जानुपर्छ भनेर फेरि म्यादी प्रहरी बनें ।’
०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो । उनी पाँचौं पटक म्यादी प्रहरी बने । ‘त्यो चुनाव संविधान निर्माणको अन्तिम प्रयासका रूपमा महत्त्वपूर्ण थियो,’ उनले भने, ‘त्यसबेला पनि मतदान केन्द्रमा उभिएर इतिहासकै साक्षी बनें ।’ ०७४ मा स्थानीय तहको चुनावमा पनि म्यादी प्रहरी बने । ०७९ मा स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि उनी म्यादी प्रहरीकै भूमिकामा थिए ।
यसपालि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी दसौं पटक सुरक्षाको जिम्मेवारी लिँदै छन् । ‘यो चुनावबाट निर्वाचन प्रहरी भनेर नाम परिवर्तन त भयो, तर २०५१ देखि मैले देखिरहेको राजनीतिक अस्थिरता उस्तै रह्यो,’ उनले भने, ‘केही बदलिएन ।’ उनी अहिले जिल्ला प्रहरी परिसरमा तालिममा व्यस्त छन् ।
