केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक देवराज भट्टले प्रारम्भिक रूपमा खोरेतसँग मिल्दाजुल्दा लक्षण देखिएकाले रोगको यकिन पुष्टि गर्न पशुबाट संकलन गरिएका ‘स्याम्पल’ परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी दिए ।
डडेलधुरा — डडेलधुराको भागेश्वर गाउँपालिका–४ किमौला क्षेत्रमा गाई, भैंसी र बाख्रामा खोरेत रोगसँग मिल्दाजुल्दा लक्षण देखिएपछि उपचार, निगरानी र रोग निदानको काम थालिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेलधुराका अनुसार पशुमा शारीरिक तापक्रम बढ्ने, अत्यधिक र्याल बग्ने, मुखभित्र (जिब्रो र गिजा) घाउ देखिने तथा खुरको बीच भागमा घाउ भई लंगडाउनेजस्ता लक्षण देखिएका छन् । केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक देवराज भट्टले प्रारम्भिक रूपमा खोरेतसँग मिल्दाजुल्दा लक्षण देखिएकाले रोगको यकिन पुष्टि गर्न पशुबाट संकलन गरिएका ‘स्याम्पल’ परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी दिए । पुष्टि नहुँदासम्म सम्भावित जोखिमलाई ध्यानमा राखेर नियन्त्रणका सबै उपाय अपनाइएको उनको भनाइ छ ।
रोग फैलिन नदिन बिरामी पशुलाई अलग्गै राखी उपचार गर्न, बिरामी पशुलाई चरिचरन क्षेत्रमा नलग्न, रोग देखिएको क्षेत्र र सिमाना जोडिएका स्थानमा रोग नियन्त्रण नहुञ्जेल पशु तथा पशुजन्य वस्तुको आवत–जावतमा सचेत हुन तथा बिक्रीवितरण रोक्न केन्द्रले आग्रह गरेको छ ।
यस्तै, हालसम्म रोग नदेखिएका क्षेत्रबाट आएका पशुमा खोप लगाउन सहयोग गर्न पशुपालकलाई अनुरोध गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेलधुराले स्थानीय तह र पशुपालकसँग समन्वय गर्दै रोग नियन्त्रण तथा निगरानीको काम निरन्तर जारी राख्ने जनाएको छ ।
