मदन भण्डारीदेखि बालेन्द्रसम्मले खाएको ‘बाजेको खीर’

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पर्ने साहुखर्क भएर यात्रा गर्नेहरूले बाजेको खीर पसलको स्वाद मिस गर्ने सायदै हुन्छन् ।

माघ १४, २०८२

अर्जुन शाह

From Madan Bhandari to Balendra, 'Grandpa's Kheer' has been eaten

What you should know

धनगढी — डडेलधुराको गन्यापधुरा–१ रुवाखोलाका दुई जना शेरबहादुर देउवा । एक जना शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भएर राजकाज चलाए । अर्का शेरबहादुर ‘खीर बाजे’ का नाममा देश–विदेशमा चिनिए ।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले डडेल्धुरास्थित साहुखर्कमा रहेको बाजेको खीर पसलमा खीर खाइरहेको तस्बिर र भिडियो यतिबेला भाइरल छ । मंगलबार बर्दिया हुँदै कैलाली प्रवेश गरेका नेता शाह बुधबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणमा छन् ।

दुई वर्षअघि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पूर्व–पश्चिमबाट आएका एमालेका शीर्ष नेताहरूले पनि यही बाजेको खीर पसलमा खीर खाएको फोटो–भिडियो सामाजिक सञ्जालमा बेस्सरी घुमेको थियो ।

हुन त खीर बाजेको पसलको चुलोमा पाकेको खीरको स्वाद चाख्ने हाइप्रोफाइल बालेन वा केपी शर्मा ओली मात्र होइनन् । मदन भण्डारीदेखि हरेक उच्च पदस्थ नेताले यहाँको खीरको स्वाद चाखेका छन् । शेरबहादुर देउवाका छोरा, जो हाल यो खीर पसललाई निरन्तर सञ्चालन गरिरहेका छन्, कर्णबहादुर देउवा भन्छन्, ‘मदन भण्डारी, माधव नेपाल, बाबुराम भट्टराईले पनि हाम्रो पसलको खीरको स्वाद चाखिसक्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवा त आफ्नै परिवारका भए ।’ सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पर्ने साहुखर्क भएर यात्रा गर्नेहरूले बाजेको खीर पसलको स्वाद मिस गर्ने सायदै हुन्छन् ।

From Madan Bhandari to Balendra, 'Grandpa's Kheer' has been eaten

तत्कालीन जर्मन राजदूत रुडिगर लेम्पसँग आएका एक विदेशी पत्रकारले देउवाको तस्बिरसहित ‘हिउँको खीर’ शीर्षकमा लेखेपछि उनको नाम विदेशमा पनि फैलिएको कर्ण सम्झिन्छन् ।

०२४ सालतिर शेरबहादुर गाउँबाट भीमदत्त राजमार्गको साहुखर्क उक्लिए । आफ्ना बुवा (खीर बाजे) ले ०३२ सालतिरबाट खीर पसल सुरु गरेको कर्णबहादुर बताउँछन् । तीन वर्षअघि ८२ वर्षको उमेरमा बितेपछि खीर बाजेको बिँडो उनका छोरा कर्णबहादुरले थामिरहेका छन् ।

पछिल्ला वर्षहरूमा निकै चर्चा बटुलेको बाजेको खीर पसलले यहाँसम्म आइपुग्न अनेकौँ कठिनाइहरू पार गरेको छ । उहिलेको कठिन समयमा कैयौँ हिँडेरुहरूलाई आश्रय दिएको छ । ‘महाभारत पर्वतको यस घनघोर लेकमा मेरै सम्झनिमा पनि महिनौँसम्म बाक्लो हिउँ जम्थ्यो,’ कर्णबहादुर विगतका दिनहरू सम्झँदै भन्छन्, ‘अहिले जस्तो पसलहरू पनि थिएनन् त्यस बेला । हाम्रो मात्रै पसल थियो । गाडी चल्दैनथे । हिँडेरुहरूको बास बस्ने ठाउँ पनि हाम्रो मात्र थियो ।’

बुवासँगै खीर पकाउँदै आएका कर्णलाई पनि यो काम गर्न थालेको २६ वर्ष भएको उनले सुनाए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully