परीक्षाको मुखमा शिक्षक खोज्न विश्वविद्यालय धाउँदै दार्चुलाका विद्यार्थी

क्याम्पस समायोजन हुँदा जुन जनशक्ति र भौतिक पूर्वाधार थियो अहिले पनि त्यही अवस्था रहेको क्याम्पस प्रमुख परमलसिंह महराले बताए ।

माघ १०, २०८२

भवानी भट्ट

Darchula students rush to university to find teachers ahead of exams

What you should know

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वरका विद्यार्थी ओमकार जोशी विज्ञान संकाय अन्तरगत छैठौं सेमेष्टमा अध्ययन गरिरहेका छन् ।

विश्वविद्यालयले छैठाैं सेमेस्टरको परीक्षा यही माघ २३ देखि तय गरेको छ। तर जोशीसहितका केही विद्यार्थी र क्याम्पसका प्राध्यापकहरु भने शिक्षक खोज्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगर पुगेका छन् ।

गणित विषयको शिक्षक विना नै पढाइ गर्नुपर्ने भएकाले उनीहरु शैक्षिक सत्रको अन्त्यतिर शिक्षक खोज्दै सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आएका हुन् । ‘पटक पटक गणितको प्राध्यापक पठाईदिन माग गर्‍यौं, क्याम्पसले पनि पत्राचार गर्‍यो, तर केही सुनवाई भएन,’ जोशीले भने, ‘क्याम्पसमा तालाबन्दी पनि गरेका छौं, तै पनि माग पूरा भएको छैन ।’ उनका अनुसार क्याम्पसमा २० दिनदेखि तालाबन्दी गरिएको छ । 

२०७५ मा गोकुलेश्वर बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाइएको  थियो । क्याम्पस समायोजन हुँदा जुन जनशक्ति र भौतिक पूर्वाधार थियो अहिले पनि त्यही अवस्था रहेको क्याम्पस प्रमुख परमलसिंह महराले बताए । 

उनका अनुसार क्याम्पसमा विज्ञान संकायमा अध्यापनका लागि गािणत विषयका उपप्राध्यापक मदनबहादुर चन्द कार्यरत थिए । अढाई वर्षअघि उपप्राध्यापक चन्द काज मिलाएर केन्द्रीय कार्यालय पुगे । एक वर्ष विज्ञान संकायकै डीनको कार्यालयमा बसे । त्यसपछि उनलाई महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसमा सरुवा गरियो । ‘चन्द सरको सरुवापछि बिएडमा पढाउने सरले पढाइरहनुभएको छ, तर त्यसले हाम्रो पढाई पुरा भएको छैन,’ बिएससी पाँचौ सेमेस्टरमा अध्ययनरत दिपक सिंह ठगुन्नाले भने, ‘हामीले क्यामपस प्रशासन, विश्वविद्यालय सबैलाई चन्द सरको काज फिर्ताका लागि पनि आग्रह गर्‍यौं, तर हाम्रो सुनवाई भएन ।’ 

क्याम्पसका स्ववियु सभापति सुनिल डाँगाले शिक्षकका लागि दुई वर्षदेखि नै माग गरिरहेको बताए । उनले पछिल्लो पटक क्याम्पसमै तालाबन्दी गर्दा पनि मागको सुनवाई नभएकोले केन्द्रीय कार्यालयमा आउनुपरेको बताए ।

अहिले क्याम्पसका ६ जना विद्यार्थी र क्याम्पस प्रमुख महरा उपकुलपति प्राध्यापक हेमराज पन्त र रजिष्ट्रार प्राध्यापक विनोद लेखकसँगै विज्ञान संकायका डीन प्रेमसिंह साउँदलाई भेट्न महेन्द्रनगर पुगेका हुन् । तर उपकुलपति पन्त र रजिष्ट्रार लेखक काठमाडौंमा भएकाले भेट्न पाएनन् । डीन साउँदसँग भेट भएको र आवश्यक जनशक्तिको व्यवस्थापन गरिने आश्वासन दिएको महराले बताए । 

गोकुलेश्वर बहुमुखी क्याम्पसमा विज्ञान संकायको गणित विषयमा मात्रै होइन जुलोजीका लागि पनि प्राध्यापक छैनन् । अहिले बोटनीका प्राध्यापकले जुलोजी पढाइरहेका छन् । ‘यो मल्दिै नमिल्ने कुरा हो, नेपालीको शिक्षकले अंग्रेजी पढाएजस्तै भइरहेको छ,’ विज्ञान संकायका डीन साउँदले भने, ‘शिक्षा संकायमा पढाउने शिक्षकले विज्ञान संकायमा पढाउन मिल्दैन, मैले अबदेखि नपढाउनुहोला भनेको छु ।’ उनले आफुलाई यस विषयमा विद्यार्थीहरु आएपछि मात्रै जानकारी भएको बताए । 

उनले बोटनीको प्राध्यापकलाई पनि जुलोजी नपढाउन निर्देशन दिएको बताए । केन्द्रीय क्यापसमा भएको जनशक्तिबाट अनलाईन माध्यमबाट पठनपाठनको व्यवस्थापन गरिने उनले बताए । विद्यार्थी र क्याम्पस प्रमुख दुवै पक्षसँग छलफल गरेको र अब माथिल्लो निकायमा पनि यस विषयमा छलफल गरिने उनले बताए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully