सिलगढीको टुँडिखेलमा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको टिम ‘बी’ लाई २ रनले पराजित गर्दै सुजङले उपाधि जितेको हो।
डोटी — पद्म पब्लिक प्रिमियर लिग–३ को उपाधि सुजङ इंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ।
सिलगढीको टुँडिखेलमा शुक्रबार पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको टिम ‘बी’ लाई २ रनले पराजित गर्दै सुजङले उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सुजङ स्कुलले निर्धारित १० ओभरमा ५२ रन जोड्यो। जवाफमा मैदान उत्रिएको पद्म पब्लिक ‘बी’ टिम अन्तिम क्षणसम्म संघर्षरत देखिए पनि लक्ष्यमा पुग्न सकेन। अन्तिम ओभरमा खेलले मोड लिँदा सुजङको टिम २ रनको झिनो जित निकाल्न सफल भयो।
उपाधिसँगै सुजङले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्यो। दोस्रो स्थानमा रहेको पद्म पब्लिक ‘बी’ टिमले ५० हजार रुपैयाँ र तेस्रो बनेको पद्म पब्लिक ‘ए’ टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्यो।
फाइनल खेलमा सुगम साउँद ब्याट र बल दुवैबाट प्रभावशाली प्रदर्शन गरेपछि उनी म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि पनि सुजङका सुगमले नै हात पारे।
उत्कृष्ट ब्याटर सुजङकै मोहन भट्ट, उत्कृष्ट बलर पद्म पब्लिक मुक्ति नारायण माविका आशिष साउँद तथा उदयमान खेलाडी मोर्निङ लाइट सेकेन्डरी स्कुलका शोहम घले घोषित भए ।
माघ २ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी थिए। विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पद्म पब्लिक प्रिमियर लिगले पढाइसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिँदै लुकेका प्रतिभा उजागर गर्ने थलो बन्दै आएको छ।
