ब्रम्हदेव सडक छुट्टिने चोकको ‘विपिन चोक’ नामाकरण

भीमदत्त नगरकार्यपालिकाको निर्णयपछि नगरपालिका र वडा कार्यालयले शुक्रबार विपिन चोक घोषणा गरी उक्त क्षेत्रमा विपिनको नाम समेत लेखिएको छ।

माघ ९, २०८२

भवानी भट्ट

Brahmadev Road intersection renamed 'Bipin Chowk'

कञ्चनपुर — पूर्वपश्चिम राजमार्ग अन्तरगत महेन्द्रनगरको ब्रम्हृदेव लिंक रोड छुट्टिने चोकको ‘विपिन चोक’ नामाकरण गरिएको छ।

भीमदत्त नगरकार्यपालिकाको निर्णयपछि नगरपालिका र वडा कार्यालयले शुक्रबार 'विपिन चोक' घोषणा गरी उक्त क्षेत्रमा विपिनको नाम समेत लेखिएको छ। 

‘विपिनले इजरायलमा बहादुरी देखाएको कुरा हामीले स्मरण गरिरहने छौं, अरुले पनि स्मरण गरुन् भनेर यस चोकको नाम विपिन राखिएको हो,’ भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगनसिंह धामीले भने, ‘भविष्यमा यही चोकमा विपिनका सालिक बनाउने योजना समेत बनाएका छौं ।’ 

दुई वर्षअघि लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थी विपिन जोशीको हमासको नियन्त्रणमा रहेका बेला मृत्यु भएको थियो । इजरायल र हमासबीच युद्धबिराम पछि गत कात्तिक ३ गते विपिनको शव घर ल्याइएको थियो । शव घर पुगेको दोस्रो दिन महाकाली नदीमा उनको अन्तिम संस्कार गरिएको थियो । 

विपिन चोक घोषणा गर्दा विपिनका बुवा महानन्द जोशी, दाई किशोर जोशीलगायतको उपस्थिति रहेको थियो । भीमदत्त नगरकार्यपालिकाले विपिनलाई सहिद घोषणाका लागि निर्णय गरेर जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारमा सिफारिस गरेको वडाध्यक्ष धामीले बताए ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully