कांग्रेसबाट लेखकले पाएनन् उम्मेदवारी ।
कञ्चनपुर — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा ५५ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये ११ जना स्वतन्त्र छन् भने ४४ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभरिका तीन वटै क्षेत्रमा ६ जना महिलाको उम्मेदवारी परेको छ। क्षेत्र नं १ मा नेपाली कम्युनिस्ट पार्टीबाट विना मगर, आम जनता पार्टीबाट सीता विक तथा स्वतन्त्रतर्फ रूपादेवी विष्ट र मञ्जुदेवी सुनारले उम्मेदवारी दिएका छन्। यसैगरी, क्षेत्र नं २ बाट नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती रानाले उम्मेदवारी दिएकी छन् भने क्षेत्र नं ३ मा आम आदमी पार्टीबाट लक्ष्मी कुमारी विष्ट उम्मेदवार बनेकी छन्।
मुख्य राजनीतिक दलबाट अधिकांश पुरानै र केही नयाँ अनुहार देखिएका छन्। क्षेत्र नं १ मा नेपाली कम्युनिस्ट पार्टीबाट विना मगर यसअघि पनि निर्वाचित भइसकेकी छिन्। एमालेका तारालामा तामाङ पनि विघटित प्रतिनिधिसभाका सदस्य हुन्। कांग्रेसका गोपीप्रसाद उपाध्याय र राष्ट्रिय स्वतन्त्र पार्टीका जनकसिंह धामी भने नयाँ अनुहार हुन्।
क्षेत्र नं २ मा कांग्रेसका नारायण प्रकाश (एनपी) साउद पुरानै अनुहार हुन्। एमालेका बचनबहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद पन्त र रास्वपाका दीपक बोहोरा नयाँ अनुहार हुन्।
क्षेत्र नं ३ मा कांग्रेसका हरिप्रसाद बोहोरा पहिलोपटक निर्वाचन लडिरहेका छन्। एमालेका दीपकप्रकाश भट्ट २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। नेपाली कम्युनिस्ट पार्टीका मानबहादुर सुनार सुदूरपश्चिम प्रदेशसभा सदस्य भइसकेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं १ मा ४ स्वतन्त्रसहित १९ जना, क्षेत्र नं २ मा पनि ४ स्वतन्त्रसहित १९ जना र क्षेत्र नं ३ मा ३ स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ।
कांग्रेसमा लेखकको ठाउँमा बोहोरा
पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेसका प्रभावशाली नेता रमेश लेखक यसपटक उम्मेदवार बनेनन्। क्षेत्र नं ३ बाट पटक–पटक निर्वाचित भए पनि यसपटक कांग्रेसले हरिप्रसाद बोहोरालाई उम्मेदवार बनाएको छ।
लेखक २०५६, २०७० र २०७९ मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिकतर्फ निर्वाचित भएका थिए। उनी पटक–पटक मन्त्रीसमेत भइसकेका छन्। पछिल्लो समय जेन–जी आन्दोलनका क्रममा गृहमन्त्री रहेका कारण उनी केही विवादमा परेका थिए।
लेखकलाई उम्मेदवार नबनाइएको विषयमा उनको निर्वाचन क्षेत्रअन्तर्गत महाकालीपारिको दोधार चाँदनी क्षेत्रमा असन्तुष्टि देखिएको छ।
