धनगढीमा प्रादेशिक सीप तथा रोजगार मेला, ८३ पालिकाका ६ सय जना सहभागी

सुदूरपश्चिमका कुल ८८ मध्ये ८३ वटा स्थानीय तहबाट ६ सय जना प्रशिक्षार्थी सहभागी रहेको सीप तथा रोजगार मेला ४० दिनसम्म सञ्चालन हुने छ।

माघ ५, २०८२

अर्जुन शाह

Provincial Skills and Employment Fair in Dhangadhi, 600 participants from 83 municipalities

What you should know

धनगढी — युवाहरुलाई विभिन्न विधामा सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरले सोमबारदेखि सीप तथा रोजगार मेला सञ्चालन गरेको छ।

सुदूरपश्चिमका कुल ८८ मध्ये ८३ वटा स्थानीय तहबाट ६ सय जना प्रशिक्षार्थी सहभागी रहेको सीप तथा रोजगार मेला ४० दिनसम्म सञ्चालन हुने छ। 

मेलामा विधिन्न ६ वटा मुख्य विधाअन्तर्गत २२ वटा उपविधाका तालिम सञ्चालन हुने छ । अटोमोबाइल्स, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि, शैक्षिक तथा सेवा आर्ट क्राफ्ट तथा डिजाइनिङ गरी ६ विधामा तालिम सञ्चालन गरिएको छ। मेलाको एक कार्यक्रमकाबीच सोमबार उद्घाटन गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरुलाई देशमा बस्नै नसकिने मनोविज्ञान कसरी विकास भयो भन्ने अहिलेको अहम् प्रश्न रहेको बताए। ‘यही उकुसमुस स्वरुप जेनजी आन्दोलन उर्जाको विष्फोटका रुपमा प्रकट भएको हो,’ मन्त्री भण्डारीले भने,‘अब अर्को बिष्फोट मुलुकले धान्न सक्दैन ।’

उनले श्रमलाई हेर्ने हाम्रो दृष्टिकोण नै गलत भएको बताए । ‘हाम्रो समाजमा श्रमलाई सरम (लाज) का रुपमा लिने चलन भयो,’ मन्त्री भण्डारीले भने, ‘सुदूरपश्चिम र केन्द्रबीच भूगोलको मात्रै दुरी होइन, मनोविज्ञानको पनि दुरी छ । विकास भाषणमा होइन देखिने र अनुभूति हुने गरी आउनु पर्छ ।’

उनले धनगढीको विकासमा नगरप्रमुख गोपाल हमालले गरेको विकासको प्रशंसा गरे । नगरप्रमुख गोपाल हमालले तालिमका नाममा विगतदेखि नै देशमा ठूलो खर्च भइरहे पनि धनगढीले केही फरक तथा परिणामूलक अभ्यास गरिरहेको बताए । ‘हाम्रो अभ्यासले बजारको सुनिश्चितता गरोस् भन्नेमा ध्यान दिएका छौं,’ नगरप्रमुख हमालले भने ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully