डोटीमा पूर्वमुख्यमन्त्री भट्ट चुनाव लड्ने, अरू को–को छन् मैदानमा ?

डोटी जिल्लाबाट नेकपाले सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Former Chief Minister Bhatta to contest elections in Doti, who else is in the fray?

What you should know

डोटी — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने प्रक्रिया अघि बढाएको छ। डोटी जिल्लाबाट नेकपाले सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।

भट्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भई पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०७९ को निर्वाचनमा उम्मेदवार नबनेका उनी यसपटक प्रतिनिधिसभा निर्वाचनमा पुनः उम्मेदवार बन्ने भएका हुन्।

डोटीबाट नेकपाको तर्फबाट उम्मेदवार सिफारिसमा भट्टसहित संविधान सभा सदस्य हर्कबहादुर सिंह, जङ्ग विक, अञ्जिता श्रेष्ठ, सिद्धराज विक, वीरबहादुर थापा, धनबहादुर विष्ट र प्रकाश जोशी गरी आठ जनाको नाम सिफारिस गरिएको थियो।

एमालेबाट दीपक धामी उम्मेदवार

नेकपा एमालेले डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट दीपक धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

शिखर नगरपालिका–१० निवासी धामी हाल एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष हुन्। स्वास्थ्य शिक्षाको पृष्ठभूमि भएका धामी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय युवा नेता हुन्।

एमाले डोटीले उम्मेदवारका लागि धामीसहित आठ जनाको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीमा पार्टी उपमहासचिव लेखराज भट्ट, डोटी इन्चार्ज एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्रबहादुर मल्ल, पार्टी जिल्ला अध्यक्ष मञ्जु मलासी, दीर्घराज बोगटी, गोविन्द पार्की, महेश्वर भाट र दिनेश घर्तीमगरको नाम समावेश थियो।

जनमोर्चाबाट मनोज भट्ट

राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोज भट्टलाई उम्मेदवार बनाउने भएको छ। आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि डोटी जिल्लाबाट पार्टीका महासचिवसमेत रहेका भट्टलाई सिफारिस गरिएको जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिए।

रास्वपाबाट नरेन्द्र बहादुर खड्का

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोटी प्रतिनिधिसभा निर्वाचनमा नरेन्द्र बहादुर खड्का उम्मेदवार बन्ने भएका छन्। खड्का २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचनमा सहभागी भई प्रेमबहादुर आले मगरसँग पराजित भएका थिए।

व्यवसायी खड्का डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन्।

राप्रपा र कांग्रेस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खड्ग अग्रवाल उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसले हालसम्म औपचारिक रूपमा उम्मेदवार सार्वजनिक गरेको छैन। कांग्रेस सभापति गगन थापा निकट डोटीका एक नेताका अनुसार डोटीका पूर्व पार्टी सभापति भरतबहादुर खड्का प्रतिनिधिसभा निर्वाचन लड्ने लगभग निश्चित भइसकेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully