जिल्लामा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपालगायतका दलहरु उम्मेद्वारको टुंगो लगाएर चुनावी अभियान संचालनको छलफलमा जुटेका छन् ।
What you should know
अछाम — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाहेकका दलहरुले अछामका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेद्वारको टुंगो लगाएका छन्।
जिल्लामा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपालगायतका दलहरु उम्मेद्वारको टुंगो लगाएर चुनावी अभियान संचालनको छलफलमा जुटेका छन् ।
अछाम-१ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट एमालेका तत्कालीन उपाध्यक्ष भीम रावल, एमालेको तर्फबाट केन्द्रीय सदस्य झपट बोहरा, रास्वपाबाट जिल्ला सभापति ओमप्रकाश रावलको नाम प्रतिनिधिसभा उम्मेद्वारमा टुंगो लागेको हो।
त्यस्तै अछाम-२ मा एमालेका केन्द्रीय सदस्य यज्ञबहादुर बोगटी, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट शरदसिंह भण्डारी र रास्वपाका सहमहामन्त्री तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहको उम्मेद्वारी टुंगिएको हो।
भीम रावल यहाँबाट छैठौं पटक अर्को पार्टीबाट उम्मेदवार हुन लागेका हुन्। उनी २०४८ मा अछाम–१ बाट कांग्रेसका बलबहादुर कुँवरसँग पराजित भएका थिए । २०५१ मा विजयी भएका उनी २०५६ मा कांग्रेसका गोविन्द शाहसँग पराजित भएका थिए। २०७० र २०७४ मा उनी यहाँबाट निर्वाचित भएका थिए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि सोही क्षेत्रबाट एमाले जिल्ला कमिटिले रावललाई एकल उम्मेद्वार सिफारिस गरे पनि अध्यक्ष केपी ओलीले झपट बोहरालाई उम्मेद्वार बनाएका थिए। त्यही बेलादेखि रावलले एमालेसँगको दूरी बढाएका थिए । एमालेको तर्फबाट बोहरा दोस्रोपटक प्रतिनिधिसभाको उम्मेद्वार बन्न लागेका हुन्।
अछाम-२ मा एमाले केन्द्रीय सदस्य बोगटी तेस्रो पटक प्रतिनिधिसभाको उम्मेद्वार बनेका छन् । २०७४ मा निर्वाचित बोगटी र २०७९ मा पराजित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका तत्कालीन माओवादीका शरदसिंह भण्डारी यसपटक नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेद्वार तय भएका छन् । भण्डारी १८ वर्षपछि चुनावी मैदानमा आउन लागेका हुन् ।
रास्वपाले भने पहिले पटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेद्वार उठाएको छ । रास्वपा सहमहामन्त्री शाहले यहाँ प्रचारप्रसार नै सुरु गरिसकेका छन् ।
