डोटी महोत्सव फागुन १ देखि

डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायलस्थित प्रस्तावित बसपार्क सेती बगरमा फागुन १ देखि १० गतेसम्म महोत्सव संचालन हुने छ।

माघ ४, २०८२

मोहन पनेरु

Doti Festival from Falgun 1

What you should know

डाेटी — डोटीको पहिचान, संस्कृति र सम्भावनालाई एउटै थलोमा उजागर गर्ने उद्देश्यसहित डोटी महोत्सव फागुन १ देखि १० गतेसम्म आयोजना हुने भएको छ।

डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायलस्थित प्रस्तावित बसपार्क सेती बगरमा १० दिनसम्म महोत्सव संचालन हुने छ।

महोत्सवका लागि संघका अध्यक्ष विक्रम साउँदको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। डोटीको आर्थिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आयोजना गर्न लागिएको संघले जनाएको छ।

महोत्सवमा १ सयभन्दा बढी स्टल राखिने तयारी छ। जिल्लामा उत्पादन हुने स्थानीय कृषि उपज, घरेलु तथा साना उद्योगका सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ। 

आयोजकले महोत्सवको मूल उद्देश्यमा स्थानीय उद्योग, व्यापार र व्यवसायलाई आर्थिक रूपमा सशक्त बनाउने, डोटीको मौलिक कला, संस्कृति, धार्मिक गतिविधि, रीतिरिवाज र डोटी आइडलको संरक्षण तथा प्रचारप्रसार गर्ने विषयलाई अगाडि सारेका छन्। साथै, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै डोटीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास पनि महोत्सवको मुख्य लक्ष्य भएको साउँदले बताए। 

महोत्सव अवधिभर स्थानीय मौलिक नाच, गीत, वेशभूषा र संस्कृतिको प्रस्तुतिसँगै हस्तकला, जडीबुटी, खाद्य परिकार, स्थानीय उत्पादन, औद्योगिक तथा व्यापारिक प्रविधियुक्त सामग्रीको प्रदर्शनी समेत रहने जनाइएकाे छ।

धार्मिक तथा सांस्कृतिक झाँकी, खेलाडी र विद्यार्थीका खेल कौशल प्रदर्शन, मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, खेलकुद गतिविधि र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने संघका महासचिव प्रेम भण्डारीले जानकारी दिए।

महोत्सव सञ्चालनका लागि करिब ८५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आयोजकका अनुसार महोत्सवमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

मोहन पनेरु

Link copied successfully