एमालेको समानुपातिक बन्द सूचीमा थपिए बैतडीका भट्ट

बैतडीका महादेव भट्टसहित पाँच जनालाई विभिन्न क्लस्टरबाट एमालेको समानुपातिक बन्द सूचीमा समावेश गरिएको पार्टीले जानकारी दिएको छ।

माघ ४, २०८२

मोहन चन्द

Bhatta from Baitadi added to UML's proportional closed list

बैतडी — नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकमा बैतडीबाट तीन जनाको नाम सिफारिस गरेको भए पनि बन्द सूचीमा कसैको नाम परेको थिएन। तर फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले समानुपातिक प्रणालीबाट नाम फिर्ता लिएका पाँच जनाको ठाउँमा नयाँ नाम निर्वाचन आयोगमा पेस गर्दा बैतडीलाई पनि समेटेको छ।

समानुपातिकको बन्द सूचीमा बैतडीका महादेव भट्टको नाम खस–आर्य क्लस्टरमा समावेश गरिएको एमालेका केन्द्रीय सदस्य गोविन्द गिरीले जानकारी दिए।

बैतडीका महादेव भट्टसहित धादिङका लक्ष्मणकुमार शर्मा, इलामकी सरस्वती राई, रौतहटकी सरस्वती कुमारी र मकवानपुरका मेम्बरबहादुर लोलाई समानुपातिक बन्दसूचीअन्तर्गत विभिन्न क्लस्टरका उम्मेदवार सिफारिस गरिएको उनले बताए।

एमालेको समानुपातिक बन्द सूचीमा अटाएका भट्ट एमालेको जिल्ला अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्। एमाले फुटेको बेला एकीकृत समाजवादीमा आबद्ध भएका भट्ट पछि एमालेमै फर्किएका थिए। अहिले भट्ट एमालेको प्रदेश कमिटीमा छन्।

समानुपातिकमा जिल्लाबाट सिफारिस गर्दा अध्यक्ष नरेश विक, प्रदेश कमिटी सदस्य सरस्वती नेपाली र एमालेका पूर्व केन्द्रीय सल्लाहकार सदस्य मोहन थापाको नाम सिफारिस गरिएको थियो। भट्टलाई भने सिफारिस गरिएको थिएन।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully