विगतका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र सुरक्षाको अवस्थालाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको हो ।
बैतडी — बैतडीका १२९ मतदानस्थल मध्ये ३३ वटा अति संवेदनशीलको सूचीमा राखिएका छन् ।
जिल्ला सुरक्षा समितिले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र समान्य गरी तीन भागमा वर्गीकरण गरेर केन्द्रमा सिफरिस गरेको थियो ।
सुरक्षा समितिको सिफारिस अनुसार नै केन्द्रले ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ मतदानस्थल समान्यको सूचीमा राखेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । मतदानस्थलको वर्गीकरण अनुसार सुरक्षाको व्यवस्थापन गरिने उनले बताए ।
विगतका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र सुरक्षाको अवस्थालाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको हो ।
आसन्न निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले, मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना बनाएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
‘जिल्लाका दुर्गम स्थानमा रहेका मतदानस्थलहरुको अनुगमन निरीक्षण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कच्ची सडकको पहुँच रहेका मतदानस्थलमा पुग्ने सडकलाई सुधार गर्ने लगायतका विषयमा स्थानीय तहहरुसँग पनि छलफल भइरहेको छ ।’
एकमात्र निर्वाचन क्षत्र रहेको बैतडीमा अगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ सय २९ मतदानस्थल र २ सय १४ मतदान केन्द्र कायम गरिएका छन् ।
