श्रीमान् नआएपछि जानकीको शव ७ दिनदेखि अस्पतालमै

श्रीमान् अर्को विहे गरेर भारतमा बसेको र जानकीको मृत्युको खबर पाइसक्दा पनि नआएको भन्दै माइती पक्षले पनि शव उठाएका छैनन्।

माघ ३, २०८२

मेनुका ढुंगाना

Janaki's body has been in the hospital for 7 days after her husband did not return.

What you should know

अछाम — सात वर्षर्सम्म न्याय नपाएर मृत्युको बाटो रोजेकी पञ्चदेवल विनायक नगरपालिका-९ कालेकाँडाकी ३८ वर्षीया जानकी धमालाको शव ७ दिनदेखि अस्पतालमै थन्किएको छ।

न्याय नपाएको भन्दै उनले पुस २७ गते फेसबुकमा स्टाटस लेखेर घरमै आत्महत्या गरेकी थिइन् । जानकीको शव ७ दिनदेखि जिल्ला अस्पतालमा राखिएको छ। 

उनको श्रीमान् अर्को विहे गरेर भारतमा बसेको र जानकीको मृत्युको खबर पाइसक्दा पनि नआएको भन्दै माइती पक्षले पनि शव उठाएका छैनन्। श्रीमान्, ससुरा र परिवारबाट शारिरीक र मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको जानकीका काका कमलबजार नगरपालिका–५ का वडाध्यक्ष सत्यराज तिमिल्सैनाले बताए। जानकीका श्रीमान् नआएसम्म शव नबुझ्ने माइती पक्षको अडान छ। 

मृतक जानकीका श्रीमान् आउन नचाहने र प्रहरीले पनि माइती पक्षलाई शव उठाउन दबाब दिइरहेको जानकीका ठूलोबुवा हरिप्रसाद तिमिल्सैनाले बताए । ‘जिल्ला अस्पतालमा राखिएको शव उठाउन आउने भए आउनुस्, नत्र तपाइलाई प्रहरी पठाएर ल्याउन नपरोस् भनेर प्रहरी कार्यालयबाट फोन आयो,’ उनले भने,‘प्रहरीले पीडामाथि झन् पीडा दिइरहेको छ । उनका श्रीमान्लाई झिकाउने प्रयास भएको देखिँदैन् ।’ 

शव उठाउनका लागि घरका मान्छेले आलटाल गरिरहेको उनका काका वडाध्यक्ष तिमिसैनाले बताए । ‘श्रीमान्को घरमा गाह्रो छ भने माइतीमा बस भनेर धेरै सम्झाएका थियौं । बिहे गरेकी छोरी माइतीमा बस्दा लाज हुन्छ भन्थिन् । श्रीमानसँग राम्रो सम्बन्ध बनाएर आफ्नै घरमा बस्ने उनको चाहाना थियो,’ सत्यराजले भने,‘जानकीका श्रीमान् आएर शव नबुझ्दासम्म शव उठाउँदैनौं । तीन दिनअघि पुग्ने खबर पाए पनि अहिलेसम्म यहाँ पुगेका छैनन् ।’

पुस २७ गते जानकीले छोरीको जन्मदिनमा आमाको हैसियतले एक झलक मात्र हेर्ने चाहना राखेकी थिइन् । तर त्यो चाहना पनि पूरा हुन नसकी पछि सोही राति उनले आत्महत्याको बाटो रोजिन् । परिवारको निरन्तर अस्वीकार, सामाजिक बहिष्कार र मानसिक थकानको भार थेग्न नसकेर जीवन नै समाप्त गरेको उनले लेखेकी छन्। 

उनका श्रीमान् चन्द्र धमाला रोजगारीको सिलसिलामा भारतमा बस्थें । उनले भारतमा दोस्रो बिहे गरेको चाल जानकीले ७ वर्षअघि नै पाइन्। आफूलाई थाहै नदिएर दास्रो बिहे गरेको सूइँको पाएपछि उनी सदरमुकाम मंगलसेन पुगिन्। श्रीमान्ले दोस्रो विवाह गरेपछि सुरु भएको उनको संघर्ष ७ वर्षसम्म अदालत, समाज र राज्यका निकायबीच अल्झिरहृयो।

२०७७ असोज २५ गते बहुविवाह सम्बन्धी मुद्दा अछाम जिल्ला अदालतमा दर्ता भएको थियो । अदालतले प्रमाण नपुगेको ठहर गर्दै जानकीको विपक्षमा फैसला गर्‍यो।  

जिल्ला अदालत अछामका अनुसार उनको मुद्दा २०७७ चैत ७ गते मुल्तवीमा गयो । र, २०८१ जेठ २ गते मुल्तवीबाट जाग्यो । २०८१ भदौ ५ गते जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजालशले दाबी नपुगेको भन्दै जानकीका श्रीमान् र उनले विवाह गरेको भनिएकी महिला रविना जोशीले सफाइ पाए।

गत जेठ २२ गते उच्च अदालत दिपायलका न्यायाधीश दण्डपाणि शर्मा र अस्मिनकुमार राईको इजलाशले जिल्ला अदालत अछामको मुद्दा उल्ट्यायो। चन्द्र र रविना दुबैलाई एक वर्ष जेल सजाय र १० हजार जरिवानाको फैसला भयो । फौजदारी संहिता कार्यविधि २०७४ को दफा १५५ प्रयोग गर्दै सजाय बराबरको रकम तिरेपछि श्रीमान् जेल नबसिकन बाहिरिए । रविना भने अझै फरार सूचीमा छिन्। कानुनी रूपमा भने सजाय पूरा भएको मानियो । तर यही दिनदेखि जानकीको जीवन झन् असुरक्षित बन्दै गयो ।

जेल सजाय बाफतको रकम तिरेर निस्केपछि चन्द्रले गत असोज ५ गते अछाम जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरे। ‘जानकीलाई १० लाख लिएर अलग हुनुपर्छ भनेर श्रीमानले दबाब दिँदै आएका थिए । उनले (भतिजी)ले प्रेम गरेर विवाह गरेको भन्दै पैसा नभइ छोराछोरी र श्रीमान् नै चाहिन्छ भन्न थालिन्,’ उनका काका सत्यराजले भने,‘उनलाई छोराछोरीसँग भेटघाट गर्न रोक लगाइयो। आमाको भूमिकाबाट व्यवहारतः बञ्चित गरियो । न्याय खोज्दै हिँडेकी जानकीका लागि यही अवस्था सबैभन्दा ठूलो चोट बन्यो ।’

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully