‘हेर र पर्ख’ अवस्थामा कांग्रेस सुदूरपश्चिम संसदीय दल

सुदूरपश्चिममा कांग्रेसका १८ सांसदमध्ये १६ जना देउवा पक्षधर, एक जना शेखर कोइराला पक्षका र एक जना विशेष महाधिवेशन पक्षधर सांसद हुन् ।

माघ ३, २०८२

अर्जुन शाह

Congress Far Western Parliamentary Party in 'watch and wait' situation

What you should know

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारसमेतको नेतृत्व गरिरहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका सांसदहरुले नेपाली कांग्रेसमा उत्पन्न पछिल्लो परिस्थितिलाई ‘हेर र पर्ख’ को अवस्थामा रहेको बताएका छन् ।

सुदूरपश्चिममा कांग्रेसका प्रदेश सांसदहरुमा एक जनाबाहेक सबै विशेष महाधिवेशन प्रक्रियाको विरोधमा रहेकाहरु छन् । त्यस पृष्ठभूमिमा शुक्रबार निर्वाचन आयोगको निर्णयबाट विशेष महाधिवेशनले वैधता पाइसकेको र नयाँ निर्वाचित कार्य समितिले कार्य थालनी गरिसकेको अवस्थामा विशेष महाधिवेशनको विरोधमा रहेका प्रदेश सांसदहरु के गर्छन्, प्रदेश सरकार के हुन्छ भन्ने चासो उत्पन्न भएको छ ।

सुदूरपश्चिममा कांग्रेसका १८ सांसदमध्ये १६ जना देउवा पक्षधर, एक जना शेखर कोइराला पक्षका र एक जना विशेष महाधिवेशन पक्षधर सांसद हुन् । विधायन तथा प्रदेश मामिला समितिका सभापति समेत रहेका दिवानसिंह विष्ट शेखर कोइराला पक्षधर हुन् भने सांसद जुना दानी एक मात्र विशेष महाधिवेशनमा खुलेकी सांसद हुन् । मुख्यमन्त्री कमलबहादुर शाहसहित १६ जना सांसद शेरबहादुर देउवा निकट सांसद हुन् । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामी आफूहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउँछन् । ‘हामी शेरबहादुर देउवाका पक्षमा अटल भएर उभिएकै छौं । तर निर्वाचन आयोगले एक प्रकारको फैसला गरेको छ । यही अन्तिम पनि होइन, अन्य कानुनी प्रकृयाहरु पनि बाँकी होलान्,’ प्रमुख सचेतक धामीले भने ‘केन्द्रबाट के निर्णय आउँछ, त्यो पनि हेर्नुपर्छ । तत्काल कित्ताकाट गरिहाल्नु पनि आवश्यक छैन ।’ सुदूरपश्चिममा एमालेको साझेदारीमा प्रदेश सरकार छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully