कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

एक जना फरार प्रतिवादी लोकेन्द्रजंग शाहीको मुद्दा मुल्तबीमा राखिएको छ भने सात जनालाई सफाइ दिइएको छ ।

पुस २९, २०८२

अर्जुन शाह

13 people sentenced to life and life imprisonment in Kailali's Baduwal murder case

धनगढी — कैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतले रावलसहित आर्यन देवकोटा, रोशनबहादुर शाही, अर्नुज भनिने चिरन्जीवी शाही, रोहित आले र हिमाल शाहीलाई आजीवन जन्मकैदको फैसला सुनाएको हो । 

बडुवाल हत्याकाण्डका नामले चर्चित कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको फैसलामा हेमन्त शाही, मदन शाही, दीपेन्द्र शाही, निसान्त मल्ल र सोहन शाहलाई जन्मकैद तथा लोकन्द्र कुँवर र समिरजंग शाहीलाई अभियोग दाबी बमोजिम जन्मकैदको फैसला सुनाइएको कैलाली अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी दिए । 

सात जनालाई भने सफाइ दिइएको छ । अशोक रावल, महेश रावल, जयेन्द्र शाह, विकास खड्का, प्रवीन रिमाल, विकास शेरचन थकाली र कपिल श्रेष्ठलाई भने सफाइ दिइएको छ । एक जना फरार प्रतिवादी लोकेन्द्रजंग शाहीको मुद्दा मुल्तबीमा राखिएको छ । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully