बैतडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

प्रहरी घटनास्थलमा पुग्नुअगाडि नै स्थानीयले घाइतेलाई डडेल्धुरा अस्पताल पठाइसकेको र मृतक तीन जनाको शव मात्रै घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज सिंहले बताए ।

पुस २८, २०८२

मोहन चन्द

Jeep accident in Baitadi, 3 people killed

बैतडी — जिल्लाको पाटन नगरपालिका–८ जयपृथ्वी राजमार्गअन्तर्गत विजयपुर नजिक झौलेकमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बिहान साढे १० बजेतिर बैतडीको मोतीनगरदेखि डेडल्धुरा जाँदै गरेको म१ज २२४ नम्बरको बलेरो जिप सडकबाट करिब तीन सय मिटर तल खसेको हो ।

जिपमा १० जना सवार रहेको प्रहरीको अनुमान छ । प्रहरी घटनास्थलमा पुग्नुअगाडि नै स्थानीयले घाइतेलाई डडेल्धुरा अस्पताल पठाइसकेको र मृतक तीन जनाको शव मात्रै घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज सिंहले बताए ।

‘मृतक तीन जनाको पनि नाम र ठेगाना खुलेको छैन,’ उनले भने, ‘मृतक तीन जना पुरुष हुन् ।’ जिल्ला अस्पताल डडेल्धुरासँग समन्वय भइरहेको र बाँकी घाइतेको विवरण त्यसपछि मात्र थाहा हुने उनले बताए ।

घटना के कति कारणले भएको र जिपमा सवार कति जना रहेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully