छाङरु र टिंकरको मतदान सदरमुकाममै हुने

गत मंसिरमा यहाँका दुवै गाउँका बासिन्दा बसाइँ (कुञ्चा) सरेर खलङ्गा आएका कारण निर्वाचन खलंगामै हुने भएको हो ।

पुस २६, २०८२

रासस

Voting for Chhangru and Tinker will be held at the district headquarters.

What you should know

दार्चुला — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ।

गत मंसिरमा यहाँका दुवै गाउँका बासिन्दा बसाइँ (कुञ्चा) सरेर खलङ्गा आएका कारण निर्वाचन खलंगामै हुने भएको हो ।

२०७९ को स्थानीय तह निर्वाचन  छाङरु र टिंकरकै मतदान केन्द्रमा भएको थियो। यसपटक स्थानीयको बसाइँसराइ सरेको कारण दुवै मतदान केन्द्र खलंगामै कायम गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। व्यास-१  छाङरु र टिंकरमा दुई वटा मतदान केन्द्र कायम छन्।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार कैलाशपति आधारभूत विद्यालय छाङरुमा ३७५ जना र मोतिमहिला संघ आधारभूत विद्यालय टिंकर केन्द्रमा २४४ जना मतदाता छन् ।

२०७९ मा भएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा छाङरुको मतदान केन्द्रमा ३८३ र टिंकरमा २३४ जना मतदाता थिए।

यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि दार्चुलामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन्। जिल्ला सुरक्षा समिति दार्चुलाका अनुसार तोकिएकामध्ये २२ मतदान केन्द्र अति सम्वेदनशील सूचीमा राखिएको छ। 

जिल्लामा रहेका १४३ मतदान केन्द्रमध्ये २२ अति सम्वेदनशील, ४१ सम्वेदनशील र ७८ सामान्य सूचीमा राखेर विभाजन गरिएको जिल्ला सुरक्षा समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। यसपटक भौगोलिक दुर्गमता, विगतका निर्वाचन अनुभव, सुरक्षा निकायको पहुँचलगायतलाई आधार मानेर वर्गीकरण गरिएको उनले बताए।  

यस पटक जिल्लामा २०७९ को निर्वाचनको तुलनामा २ हजार १६६ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार २०७९ माको प्रतिनिधिसभा निर्वाचनमा ९० हजार ७८२ रहेका मतदाता सङ्ख्या रहेकोमा हाल बढेर ९२ हजार ९४८ पुगेको छ ।

धामीका अनुसार हाल कायम रहेका मतदातामध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता छन् । नौ वटा स्थानीय तह रहेको दार्चुलामा शैल्यशिखर नगरपालिकामा १५ हजार ५१६ मतदाता छन् भने महाकाली नगरपालिकामा १४ हजार १४३ मतदाता कायम भएका छन् ।

मालिकार्जुन गाउँपालिकामा ११ हजार ८७८, लेकम गाउँपालिकामा १० हजार ३११ र नौगाड गाउँपालिकामा १० हजार ८८ मतदाता रहेका छन्। मार्मा गाउँपालिकामा ९ हजार ६१३, दुहुँ गाउँपालिकामा ८ हजार ४४१, व्यास गाउँपालिकामा ८ हजार १६२ तथा अपि हिमाल गाउँपालिकामा ४ हजार ७९६ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रासस

Link copied successfully