इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्वराड क्षेत्रका जनतालाई नागरिकता बनाउन महँगो भाडा तिरेर जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता हट्नेछ ।
बैतडी — जिल्लाको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सरोकारवालाको टोलीले निरीक्षण गरेको छ । तत्काल मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि निरीक्षण गरिएको प्रजिअ पौडेलले बताए ।
‘संघीय सरकारबाट बजेट र कर्मचारीको सुनिश्चिता भएमा तत्कालै नागरिकता वितरणसहितको सेवा संचालनमा ल्याउँछौं,’ उनले भने, ‘संघ सरकारबाट त्यस्तो व्यवस्था नभए तत्काल जिल्लाबाट भए पनि कार्यालय स्थापना गरी राष्ट्रिय परिचयपत्रको सेवा दिनेछौं ।’
सरकारले केही दिनअघि बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गराउन टोलीले सम्भाव्य स्थानको निरीक्षण गरेको हो ।
कार्यालय संचालन गर्न सम्भावित मेलौली बजारस्थित आँखा उपचार केन्द्र रहेको भवन र घरेलु तथा साना उद्योग कार्यालयको निरीक्षण गरिएको उनले बताए । इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्वराड क्षेत्रका जनतालाई नागरिकता बनाउन महँगो भाडा तिरेर जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता हट्नेछ ।
सुदूरपश्चिमा बैतडीको मेलौली, बाजुराको कोल्टी, डोटीको बीपीनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
