डडेलधुरा अस्पतालमा बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द

अस्पताल विकास समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको मनोबल कमजोर बनाउने घटनाप्रति विरोध जनाउँदै अस्पतालको सेवा बन्द गर्ने निर्णय लिएको जनाएको छ ।

पुस २३, २०८२

तर्कराज भट्ट

All services except emergency services closed at Dadeldhura Hospital from Thursday

डडेलधुरा — डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझालाई कार्यकक्षमा दुर्व्यवहार भएको घटनाको विरोधमा बिहीबार आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिने भएको छ ।

नेकपा (बहुमत)को नाममा आएका व्यक्तिहरूले विभिन्न आरोप लगाउँदै बुधबार ओझामाथि कालोमसो दलेका थिए । 

अस्पताल विकास समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको मनोबल कमजोर बनाउने घटनाप्रति विरोध जनाउँदै अस्पतालको सेवा बन्द गर्ने निर्णय लिएको जनाएको छ । दोषीलाई तत्काल कानुनी दायरामा नल्याइएसम्म र घटनाले गिराएको कर्मचारीको मनोबललाई मध्यनजर गर्दै बिहीबारदेखि आकस्मिक सेवाबाहेक अन्य सबै सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको अस्पताल विकास समितिको विज्ञप्तिमा उल्लेख छ । 

समग्र स्वास्थ्य प्रणाली सुदृढ गर्न तथा अस्पतालबाट प्रभावकारी सेवा प्रवाहका लागि अग्रपंक्तिमा खटिँदै आएका अध्यक्ष ओझामाथि अस्पतालभित्रै गरिएको दुर्व्यवहारले सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरूको मनोबलमा गम्भीर असर पर्ने अस्पतालको भनाइ छ ।

अस्पताल विकास समितिले यस्ता घटनाले सेवा प्रवाहमा नकारात्मक असर पार्नेबाहेक कुनै उपलब्धि नहुने भन्दै यस विषम परिस्थितिमा उच्च नैतिक मूल्य र मान्यता कायम राख्दै अस्पताल परिवारको पक्षमा उभिन सम्पूर्ण सरोकारवालालाई आह्वान पनि गरेको छ । साथै घटनामा संलग्न दोषीमाथि यथाशीघ्र छानबिन गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

भविष्यमा यस्ता अराजक गतिविधिको पुनरावृत्ति हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाजलगायत सबै सरोकारवाला निकायलाई अस्पतालले अपिलसमेत गरेको छ । 

तर्कराज

Link copied successfully