२५० ग्राम खैरो हेरोइन बरामद
बैतडी — बैतडीमा लागुऔषध खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन् । पाटन नगरपालिका–६ पाटन बजारस्थित एसकेएनएस निर्माण सेवा प्रालिको कार्यालयबाट मंगलबार बिहान पौनै १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देब बडूले जानकारी दिए ।
पक्राउ पर्नेमा पाटन नगरपालिका–६, बस्ने २१ वर्षीय हेमन्त विष्ट, सोही ठाउँ बस्ने २२ वर्षीय कपिल विष्ट, १८ वर्षीय ससांक चन्द, ३० वर्षीय विष्णु विष्ट र २२ वर्षीय सुवास कठायत रहेका छन् । उनीहरूको साथबाट २५० मिलिग्राम खैरो हेरोइन फेला परेको हो ।
‘लागुऔषध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको अधारमा प्रहरीले जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो,’ प्रवक्ता बडूले भने, ‘लागुपदार्थसहित पाँचै जनालाई तत्काल पक्राउ गरिएको हो ।’
पाँचै जनालाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
