दोगडाकेदारका टुहुरा बालबालिकालाई पढाइ प्रोत्साहन भत्ता

बालबालिका पढ्ने विद्यालय र बालबालिका बस्ने घरमै गएर उनीहरूले पाएको भत्ता सही ठाउँमा खर्च गरेका छन् कि छैनन् भनेर समय–समयमा अनुगमनसमेत गर्ने गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख भट्टले बताइन् ।

पुस २२, २०८२

मोहन चन्द

Education incentive allowance for orphaned children of Dogadakedar

What you should know

बैतडी — दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका टुहुरा बालबालिकालाई प्रत्येक वर्ष पढाइ प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । पालिकाले टुहुरा बालबालिकाको आर्थिक अभावले गर्दा विद्यालय जान नपाएकालाई पढाइप्रति आकर्षित गर्न आर्थिक सहयोग स्वरुप पढाइ प्रोत्साहन कार्यक्रम संचालनमा ल्याएको हो ।

पालिकाले टुहुरा विद्यार्थीलाई पढाइ प्रोत्साहन स्वरुप वार्षिक २० हजार नगद भत्ता दिने गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चित्रा भट्टले बताइन् । ‘पढाइ प्रोत्साहन कार्यक्रमका लागि पालिकाले प्रत्येक वर्ष चारदेखि पाँच लाख बजेट छुट्याउाछ,’ उनले भने, ‘प्रत्येक वर्ष छुट्याएको पूरै रकम खर्च हुँदैन, बाँकी रकम पालिकामै फिर्ता जान्छ ।’

गाउँपालिकाले आर्थिक अभावले विद्यालयको पोसाक र शैक्षिक सामग्री लगायतका अत्यावश्यक चिज किन्न नसकेर विद्यालय भर्ना नभएका टुहुरा बालबालिकालाई सहज रुपमा पढाइ गरुन् भन्ने उद्देश्यले पढाइ प्रोत्साहन कार्यक्रम संचालन गरेको उनले बताए ।

पालिकाले आर्थिक वर्ष २०७५/७६ देखि यो कार्यक्रम सुरु गरेको हो । आर्थिक वर्ष ०८०/८१ को भन्दा गत आर्थिक वर्षमा पढाइ प्रोत्साहन भत्ता लिने बालबालिकाको संख्या घटेको छ । आर्थिक वर्ष ०८०/८१ मा १६ जना टुहुरा बालबालिकाले भत्ता बुझेका थिए भने गत आवमा यो संख्या घटेर १३ मा झरेको छ । पढाइ छोडेर पालिकाबाहिर गएकाले भत्ता लिनेको संख्या गत आवमा घटेको पालिकाले जनाएको छ । 

बालबालिका पढ्ने विद्यालय र बालबालिका बस्ने घरमै गएर उनीहरूले पाएको भत्ता सही ठाउँमा खर्च गरेका छन् कि छैनन् भनेर समय–समयमा अनुगमनसमेत गर्ने गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख भट्टले बताइन् । 

चालु आर्थिक वर्षदेखि पालिकाभित्र रहेका विधुर पुरुषलाई पनि विधुर भत्ता दिनका लागि लगत संकलनको कार्य भइरहेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । ‘विधुर भत्ताका लागि लगत संकलन भइसकेको छ,’ उनले भनिन्, ‘चालु आर्थिक वर्षभित्रै भत्ता दिने तयारीमा छौं ।’ विधुर भत्ताका लागि छुट्टै बजेट भने नछुट्याएको गाउँपालिकाले जनाएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully