जोगबुढा अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति

अन्ततः प्रदेश सरकार र नगरपालिकाबीच सहमति भएपछि अस्पताललाई प्रादेशिक अस्पतालमा रूपान्तरण गर्न सफल भएको परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीले बताए ।

पुस २१, २०८२

तर्कराज भट्ट

Jogbudha Hospital upgraded to provincial hospital

डडेल्धुरा — डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढा अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको छ । सोमबार सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र परशुराम नगरपालिकाबीच सम्झौतामा हस्ताक्षर भएसँगै अस्पताललाई प्रादेशिक तहको मान्यता दिइएको हो ।

परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीका अनुसार अस्पताल प्रादेशिक बनेसँगै स्थानीय नागरिकले थप गुणस्तरीय, व्यवस्थित र व्यापक स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसले परशुराम नगरपालिकासहित आसपासका पालिकाका नागरिकलाई विशेषज्ञसहतिको स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । 

लामो समयदेखि जोगबुढा अस्पताललाई स्तरोन्नति गर्ने विषयमा पहल हुँदै आएको नगर प्रमुख जोशीले बताए । अन्ततः प्रदेश सरकार र नगरपालिकाबीच सहमति भएपछि अस्पताललाई प्रादेशिक अस्पतालमा रूपान्तरण गर्न सफल भएको उनको भनाइ छ । 

प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नतिपछि विशेषज्ञ सेवा, आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार विस्तारमा थप ध्यान दिइने नगरपालिकाले जनाएको छ । यसबाट मातृशिशु स्वास्थ्य, आकस्मिक सेवा, रोग पहिचान र उपचार सेवामा सुधार आउने अपेक्षा गरिएको छ । 

नगर प्रमुख जोशीले यो उपलब्धि सम्भव बनाउन सहयोग गर्ने सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।

तर्कराज

Link copied successfully