बझाङमा एमालेबाट ऐन महरसहित ३ जनाको नाम सिफारिस

एमालेका केही केन्द्रीय सदस्यहरूले भने ऐन महर पक्षले एकपक्षीय ढंगले उम्मेदवार सिफारिस गरेको आरोप लगाएका छन्

पुस २०, २०८२

वसन्तप्रताप सिंह

UML recommends names of 3 people including Ain Mahar in Bajhang

What you should know

बझाङ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले बझाङले उम्मेदवार सिफारिस गरेको छ । एमाले जिल्ला कमिटी बैठकले केन्द्रीय सदस्य ऐन महर, पूर्वजिल्ला कमिटी उपाध्यक्ष मोहनराज जैशी र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्रीलाई उम्मेदवार सिफारिस गरेको हो । 

महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेबाट प्रनिनिधि उम्मेदवार थिए । उनी कांग्रेस, माओवादी र समाजवादी गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए ।

शनिबार राति थलारा गाउँपालिकामा सम्पन्न जिल्ला कमिटी बैठकले निर्वाचन प्रक्रियामार्फत उम्मेदवार सिफारिस गरेको जिल्ला कमिटी सचिव नयन बोहराले जानकारी दिए । निर्वाचन प्रक्रियामा तीन जनाले मात्रै उम्मेदवारका लागि मनोनयन गरेकोले उनीहरू मात्र सिफारिस भएको बोहराले बताए । 

यद्यपि एमालेका केही केन्द्रीय सदस्यहरूले भने ऐन महर पक्षले एकपक्षीय ढंगले उम्मेदवार सिफारिस गरेको आरोप लगाएका छन् । 'पार्टीभित्र विमति नहुने र सबैको सम्मान कायम हुने गरी सहमतिमै सिफारिस गरौँ भनेर राति एक बजेसम्म कोसिस गरिरहेका थियौँ,' एमालेका केन्द्रीय सदस्य अफिलाल ओखेडाले भने, 'सहमतिको सम्भावना हुँदाहुँदै पनि त्यो मार्ग बन्द गरेर जबर्जस्ती घोषणा गर्ने काम भयो । यसले पार्टीलाई नै असजह परिस्थितिमा उभ्याउने काम भएको छ।' 

त्यस्तै एमालेकी अर्की केन्द्रीय सदस्य आशा विकले पनि मध्यरातमा निर्वाचन प्रक्रिया थालेको भन्दै सामाजिक सञ्जालमा व्यंग्य गरेकी छिन् । उनले लेखेकी छिन्,'पुसको जाडोमा रातारात चुनाव यति आवश्यक थिएन । डर पनि कति मानेको कुन्नि !'

जिल्ला कमिटी सचिव नयन बोहराले भने उम्मेदवार बन्न चाहाने तर प्रक्रियामा नआउनेहरूले असन्तुष्टि व्यक्त गर्नुको कुनै औचित्य नभएको बताए । 'उम्मेदवार बन्न चाहने भए निर्वाचनको प्रक्रियामा आउनुस् भनेर सबैका लागि खुला गरेकै हो,' उनले भने, 'प्रक्रिया र पद्दति नमान्ने अनि जबर्जस्ती भयो भनेर असन्तुष्टि पोख्ने कुरा कहाँसम्म जायज हो ?'

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully