सशस्त्र प्रहरीको रजत जयन्तीमा पूर्व–पश्चिम झण्डा मार्च

पूर्वको झापा हुँदै आएको टोली र गड्डाचौकीबाट गएको टोली चितवनको ठोरीमा पुगेर मार्चको समापन गरिने सशस्त्र प्रहरीको झलारीस्थित नम्बर ३५ गणका एसपी लोकेन्द्र भट्टले बताए।

पुस २०, २०८२

भवानी भट्ट

East-West Flag March on Armed Police Force's Silver Jubilee

कञ्चनपुर — सशस्त्र प्रहरीको २५ औं स्थापना दिवस (रजत जयन्ती) का अवसरमा पूर्व–पश्चिम झण्डा मार्च सुरु गरिएको छ।

कञ्चनपुरका गड्डाचौकीस्थित सीमा सुरक्षा गुल्मबाट मार्च सुरु भएको हो। यसैगरी झापाको काँकडभिट्टास्थित नम्बर २ गणबाट पनि आइतबार नै झण्डा मार्च सुरु गरिएको छ।

गड्डाचौकीबाट सुरु भएको झण्डा मार्चको शुभारम्भ सशस्त्र प्रहरीका डिआईजी प्रदीप पालले गरेका हुन् । सीमाको सुरक्षामा प्रतिबद्धतासँगै सतर्कताका लागि झण्डा मार्चले योगदान दिने उनले बताए।

झण्डा मार्चले संगठनभित्र समन्वय र सहकार्य बढाउनुका साथै सीमावर्ती क्षेत्रका स्थानीय र सरोकारवाला बीच जनसम्पर्कसँगै विश्वास र सहकार्यमा अभिवृद्धि हुने अपेक्षा गरिएको छ। 

आइतबार गड्डाचौकीबाट सुरु भएको झण्डा मार्चको टोलीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जना रहेका छन् । उक्त टोलीले कञ्चनपुरको सीमा पार गरेर कैलालीलाई झण्डा हस्तान्तरण गर्नेछन्।

कैलालीको टोलीले बर्दियालाई यसैगरी पूर्वको झापा हुँदै आएको टोली र गड्डाचौकीबाट गएको टोली चितवनको ठोरीमा पुगेर समापन गरिने सशस्त्र प्रहरीको झलारीस्थित नम्बर ३५ गणका एसपी लोकेन्द्र भट्टले बताए । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully