उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र एक हजार ३५० नेपाली रुपैयाँसमेत बरामद गरिएको छ ।
दार्चुला — दार्चुलामा लागुऔषध चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका–७ सेल्प्यास्थित महाकाली करिडोरबाट ९१७ ग्राम लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–७ डिङुसीका ३० वर्षीय महेन्द्रसिंह धामी र सोही ठाउँका २८ वर्षीय मधुकर उपाध्याय छन् । उनीहरु सवार से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा जाँच गर्ने क्रममा मोटरसाइकल चालक धामीको साथबाट ९१७ ग्राम चरेस बरामद गरिएको दार्चुला प्रहरीका प्रवक्ता हेमराज भट्टले जानकारी दिए ।
उनीहरूको साथबाट १० हजार भारतीय रुपैया र एक हजार ३५० नेपाली रुपैयाँसमेत बरामद गरिएको छ । घटनामा संलग्न भएको मोटरसाइकल र दुवै युवकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
