बीचबीचमा दुई–तीन पटक मर्मत प्रयास भए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसक्दा पोखरी पुनः प्रयोगमा आउन सकेको छैन ।
What you should know
डडेल्धुरा — अमरगढी नगरपालिका–७ स्थित पोखरा बजारनजिक रहेको ३२ लाख लिटर क्षमता भएको सिँचाइ पोखरी विगत १५ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । २०३२ सालमा स्थापना गरिएको उक्त पोखरी सुरुवाती चरणमा उपयोग भए पनि केही वर्षपछि जीर्ण हुन पुगेको हो ।
समयमै मर्मत र पुनर्निर्माण नहुँदा अहिले उक्त पोखरी झन् जीर्ण बन्दै गएको छ ।
पोखरीको भित्री भाग फुट्नुका साथै पानी चुहिने समस्या देखिएपछि लामो समयदेखि यसबाट सिँचाइ हुन सकेको छैन । पोखरीभित्र घाँस उम्रिएको छ । सिँचाइका लागि बनेको संरचना बेवारिसेझैँ बनेको स्थानीय बताउँछन् ।
बीचबीचमा दुई–तीन पटक मर्मत प्रयास भए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसक्दा पोखरी पुनः प्रयोगमा आउन सकेको छैन ।
जीर्ण सिँचाइ पोखरी पुनर्निर्माण नहुँदा स्थानीय किसान सिँचाइको गम्भीर समस्यामा परेका छन् । सो पोखरीबाट उक्त क्षेत्रका सम्पूर्ण गाउँटोलमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्य रहे पनि पोखरी अस्तव्यस्त अवस्थामा पुगेपछि किसानहरू मर्कामा परेका छन् । पोखरी नजिकै अर्को सानो पोखरी निर्माण गरिए पनि त्यसले भटगाउँ र भाटा गाउँका केही नागरिकलाई मात्र सिँचाइ सेवा पुर्याउने भएकाले अन्य टोलका किसान सिँचाइ सुविधाबाट वञ्चित रहेको अमरगढी नगरपालिका–७ अमरपुरटोलका भोज ताम्राकारले बताए ।
सिँचाइको अभावकै कारण खेतीपाती प्रभावित भएको र किसानहरू चिन्तित अवस्थामा रहेको स्थानीय बताउँछन् । अमरगढी नगरपालिका–७ तिलाडी गाउँका किसान पनि सिँचाइ नहुँदा कृषिकर्म गर्न कठिनाइ भोगिरहेका छन् ।
अधिकांश स्थानीय कृषक कृषि पेसामै आश्रित रहे पनि सिँचाइ सुविधा नहुँदा खेतबारी बाँझिन थालेको स्थानीय किसान गणेशप्रसाद भट्टले बताए । उनले कृषकहरू काम गर्न इच्छुक भए पनि आवश्यक सिँचाइ संरचना नहुँदा उत्पादन बढाउन नसकिएको गुनासो गर्छन् ।
जीर्ण सिँचाइ पोखरी पुनःनिर्माण भई नियमित रूपमा सञ्चालनमा आए स्थानीय किसानलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । पोखरी सञ्चालनमा आएपछि सिँचाइ सहज भई कृषि उत्पादन बढ्ने र किसानको जीविकोपार्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास किसानले लिएका छन् ।
अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खडकबहादुर बोहराका अनुसार चालु आर्थिक वर्षमा केन्द्र सरकारबाट पोखरी पुनर्निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, पुनर्निर्माणको तयारीकै क्रममा भएको जेनजी आन्दोलन र त्यसपछि गठन भएको सरकारले उक्त बजेट रोकिदिँदा काम अघि बढ्न सकेन । बजेट फुकुवा हुनासाथ टेन्डर प्रक्रिया अगाडि बढाएर पुनर्निर्माण सुरु गरिने वडाध्यक्ष बोहराले बताए ।
उक्त पोखरी प्रयोगविहीन भएपछि विकल्पका रूपमा नजिकै ५० हजार लिटर क्षमताको अर्को सानो ट्याङ्की निर्माण गरिएको उनले जानकारी दिए । उक्त पोखरीबाट करिब ७ सय रोपनी जमिनमा तरकारी खेतीका लागि सिँचाइ हुँदै आएको वडाध्यक्ष बोहराको भनाइ छ । तर, सानो ट्याङ्कीले पर्याप्त सिँचाइ नपुग्ने हुँदा कृषकहरू अझै समस्यामा छन् ।
स्थानीयका अनुसार समयमै ठूला संरचनाको पुनःनिर्माण हुन सकेमा खेतीपाती विस्तारका साथै व्यावसायिक तरकारी उत्पादनमा ठूलो सहयोग पुग्ने थियो । लामो समयदेखि प्रयोगविहीन रहेको ऐतिहासिक सिँचाइ पोखरी पुनः सञ्चालनमा ल्याउन बजेट फुकुवा र द्रुत पुनर्निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ ।
