हल गोरु पालेका किसानलाई प्रोत्साहन : आवेदन दिनेको भीड

कम आय भएका, दुर्गम क्षेत्रका र हल गोरुबाटै जीविकोपार्जन गर्ने किसानलाई यस कार्यक्रममा प्राथमिकता दिइने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक देवराज भट्टले बताए ।

पुस १९, २०८२

तर्कराज भट्ट

Encouragement for farmers raising bulls: Crowds of applicants

डडेल्धुरा — परम्परागत खेती प्रणाली जोगाउन र किसानलाई प्रत्यक्ष राहत दिन हल गोरु पालेका किसानलाई प्रोत्साहन रकम वितरण कार्यक्रम अघि सारिएको छ ।

जिल्लाका सातवटै स्थानीय तह परशुराम र अमरगढी नगरपालिकाका साथै आलिताल, भागेश्वर, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा गरी दुई सय किसानलाई लक्षित गर्दै प्रत्येकलाई पाँच हजार रुपैयाँ दिने योजना बनाइएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक देवराज भट्टका अनुसार आवेदनहरू निकै धेरै आएका छन् । झण्डै ११ सयभन्दा बढी आवेदन प्राप्त भए पनि कतिपय किसानले हल गोरु नपालेको अवस्थामा पनि आवेदन दिएका छन् । त्यस्तै, एउटै गोरु पालेका किसानको पनि आवेदन आएको छ । यसकारण, आवेदनको सत्यता परीक्षण गरी लक्षित किसानलाई रकम वितरण गरिनेछ । 

कार्यक्रमअन्तर्गत आवेदन दिने किसानले हल गोरुको फोटो, वडाको सिफारिस र परम्परागत खेतीमा संलग्न भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने मापदण्ड तोकिएको थियो । भट्टका अनुसार कम आय भएका, दुर्गम क्षेत्रका र हल गोरुबाटै जीविकोपार्जन गर्ने किसानलाई प्राथमिकता दिइनेछ । 

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिमका सबै जिल्लामा बजेट विनियोजन गरिसकेको छ । आवेदन संकलन भइसकेको छ भने छनोट प्रक्रिया सुरु भइसकेको र निश्चित किसानलाई मात्र रकम वितरण गरिने प्रक्रिया अघि बढेको भट्टले जानकारी दिए ।

तर्कराज

Link copied successfully