टावर थपिएपछि बझाङका गाउँगाउँमा फोरजी इन्टरनेट सुविधा

नेटर्वक कमजोर भएका बझाङका गाउँहरुमा नयाँ टावर निर्माण गर्ने तथा इन्टरनेटको क्षमता बढाउने काम भइरहेको नेपाल टेलिकमले जनाएको छ।

पुस १८, २०८२

वसन्तप्रताप सिंह

4G internet facility in villages of Bajhang after tower addition

What you should know

बझाङ — खप्तड छान्ना गाउँपालिका–३ दारु गाउाका धनराज खड्कालाई एक महिनाअघिसम्म टेलिफोन गर्न निकै समस्या थियो।

बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै नेपाल टेलिकमको मोबाइलमा फोन लाग्थ्यो । त्यो पनि कमजोर नेटर्वकका कारण कुराकानी अस्पष्ट हुने गरेको थियो।

अरु सेवा प्रदायको नेटवर्क नभएका कारण बाँकी १७ घण्टा करिब २५० परिवार बस्ने यो गाउँ नै संचार सम्पर्कविहीन हुन्थ्यो। खप्तडको प्रवेशद्वारमा रहेको दारुगाउँमा होमस्टे चलाइरहेका धनराजलाई टेलिफोन नेटवर्क नहुँदा अरुलाई भन्दा बढी समस्या हुन्थ्यो । ‘फोन लागेको बेला होमस्टेमा आउने पाहुना आउादैछौ भनेर खबर गर्थे । नेटवर्क गए पछि कहाा पुगे ? पत्तै नहुने,’ उनले भने, ‘कति दिन त पाहुनाहरु मेरै होमस्टे ठानेर अरुकैमा बसिदिए । पछि पकाएको खाना पनि खेर फाल्नु परेको थियो ।’

अहिले चौबिसै घण्टा फोन मात्रै नभई डाटा पनि चल्न थालेको उनले बताए । उनको गाउँनजिकैको नेपाल टेलिकमले टावर निर्माण गरी फोरजी इन्टरनेटको उपकरण जडान गरे पछि गाउँभरीका मानिसलाई सजिलो भएको खड्काले सुनाए । 

दारुगाउँ जस्तै घाम लागेको बेला दिनको केही घण्टा नेटवर्कले काम गर्ने र नेटवर्क नै नटिप्ने ठाउँमा पनि अहिले टेलिकमले सेवा सुदृढीकरण र विस्तार गरे पछि बझाङका धेरै गाउँमा टेलिफोन सम्पर्क सहज हुनुको साथै स्थानीय बासिन्दा इन्टरनेट सेवामा पनि जोडिएका छन्। गएको तिहारपछि बझाङको तल्कोट गाउँपालिका–४ मा पर्ने दुर्गम गाउँ लोकण्ड र वडा १ मा पर्ने सुनिकोटमा फोरजी सेव्साहित नयाँ टावर थपिएका छन्।

यस्तै छबिस पाथीभरा ४, झुटेडा, जयपृथ्वी नगरपालिका १ को कैलास पिमी, वडा ५, को कोटेली र सुर्मा गाउँपालिका पनि नयाँ टावर निर्माण भए पछि स्थानीयलाई टेलिफोन र इन्टरनेट संचार गर्न निकै सहज भएको छ । ‘फोन गर्नु परे एक/दुई घण्टासम्म हिँडेर डााडाकााडा चाहार्नु पर्थ्यो । राति केही समस्या भए चार/पाँच जना साथी लिएर जंगलको बाटो नेटवर्क टिप्ने ठाउँमा पुग्नु पर्थ्यो,’ सुर्मा गाउँपालिका भीम बोहराले भने, ‘टावर बने पछि अहिले धेरै सजिलो भएको छ । घरभित्रै इन्टरनेट पनि चल्ने भएको छ ।’

नेटर्वक कमजोर भएका बझाङका गाउँहरुमा नयाँ टावर निर्माण गर्ने तथा इन्टरनेटको क्षमता बढाउने काम भइरहेको नेपाल टेलिकमले जनाएको छ। 

बझाङको थलारा गाउँपालिकाको पाराकाट्ने, छविसपाथीभेराको काँडेल र बित्थडचिर गाउँपालिकाको देउलेकमा रहेको टावरमा उच्च क्षमताको फोरजी उपकरण जडान गरे पछि इन्टरनेटको गति पनि पहिला भन्दा छिटो भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालयले जनाएको छ। 

‘पहिला ८ सय मेगाहर्ज क्षमता भएको टावरमा अहिले १८ सयको उपकरण जोडिएको छ,’ नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाका इन्जिनियर तिलक धामीले भने, ‘यसले निश्चित कम्पनीका मोबाइलमा मात्रै फोरजी चल्ने समस्या त हटेको छ नै । इन्टरनेटको स्पीड पनि राम्रो भएको छ ।’

उनले अबको एक साताभित्र दुर्गाथली गाउँपालिका ५ र बित्थडचिर गाउँपालिको सुनकुडास्थित धरान बजारमा निर्माणाधीन टावर पनि संचालनमा आउन लागेको बताए ।

यी टावर संचालनमा आए टेलिफोन र इन्टरनेट सेवाको पहुँच र प्रभावकारीता अझ बढ्ने उनले बताए । ‘यी दुई टावर पनि संचालनमा आए पछि पहिला टेलिफोन र इन्टरनेट नचल्ने बझाङका धेरै गाउँ संचार सम्पर्कमा आउने छन्,’ उनले भने । 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully