घरवारविहीन परिवारलाई एनआईएमबी बैंकले दियो २ लाख सहयोग

बैंकको आर्थिक सहयोगले घर पुनःनिर्माणमा सहयोग पुग्ने पीडित परिवाले जनाएका छन् ।

पुस १६, २०८२

मोहन चन्द

NIMB Bank provides Rs 200,000 assistance to homeless family

बैतडी — पहिरोका कारण घरवारविहीन भएका दुई परिवारलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

जिल्लाको सुर्नया गाउँपालिका–२ कटनोलीका एकल महिला रेखा चन्द र ग्रीस चन्दलाई घर पुनःनिर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको एनआईएमबी बैंक सतबाँझ शाखाका प्रबन्धक गोविन्द विष्टले बताए । 

‘बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित परिवारलाई घर पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेको हो,’ उनले भने, ‘घरवारविहीन भएका दुवै जनालाई एक/एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छौं ।’ बैंकको आर्थिक सहयोगले घर पुनःनिर्माणमा सहयोग पुग्ने पीडित परिवाले जनाएका छन् । 

गएको भदौ १५ गतेको अविरल वर्षासँगै आएको पहिराले दुवै जनाको घर बगाएको थियो । घर बगाएपछि उनीहरू सतबाँझमा अर्काको घरमा बस्दै आएका छन् । 

पहिरो प्रभावित परिवारलाई यसअघि सुर्नया गाउँपालिकाले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको थियो भने वडा कार्यालयले दुवै परिवारलाई ५०/५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully