पुस लागेदेखि यो क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित भएकाे छ ।
धनगढी — बाक्लो हुस्सु र शीतलहरका कारण अत्यधिक चिसो भएपछि धनगढीका सार्वजनिक स्थलमा आगाे ताप्न दाउरा वितरण गरिन थालिएकाे छ ।
पुस लागेदेखि यो क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित भएकाे छ । चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित भएपछि सशस्त्र प्रहरी, धनगढी उपमहानगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय कैलालीले धनगढीका सार्वजनिक स्थानहरुमा दाउरा वितरण गरिरहेकाे हाे ।
सेती अस्पताल, सहिदगेट, पारिचोक, मनहेरा, एरिस्टो बोर्डिङ स्कुल अगाडि, क्याम्पस चोक, मोती चोक, गुरही चोक, अदालत रोड, भन्सार रोडस्थित बेलौरी बसपार्क, आदर्श चोक, सशस्त्र प्रहरी पोष्टनजिक, मिलन चोक हाट बजार र ट्राफिक चौराहमा आइतबार साँझ दाउरा वितरण गरेको डिभिजन वन कार्यालयले जनाएको छ।
‘विमानस्थल, अस्पताल, बसपार्कलगायत बाक्लो उपस्थिति हुने ठाउँलाई लक्षित गरेका छौं,’ डिभिजन वन कार्यालय प्रमुख रामविचारी ठाकुरले भने ‘शनिबारदेखि धनगढीका चोकचोकमा दाउरा अभाव हुन दिएका छैनौं ।’
धनगढीको न्यूनतम तापक्रम ९ डिग्री र अधिकतम् १५ डिग्री रहेको जल तथा मौसम विज्ञान विभाग क्षेत्रीय कार्यालयका मेट्रोलोजिष्ट अखिलेश चौरसियाले बताए । उनका अनुसार केही दिनदेखि धनगढी र आसपासका क्षेत्रको तापक्रम पनि निकै घटेको छ ।
