विद्यालयको ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर शनिबार अविरयात्रा र गाडीमा नगर परिक्रमा गराई जगन्नाथ बोहरालाई सम्मानपूर्वक बिदाइ गरिएको हो ।
What you should know
डडेल्धुरा — परशुराम नगरपालिका–२ स्थित भागेश्वर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक जगन्नाथ बोहरालाई नगर परिक्रमासहित बिदाइ गरिएको छ ।
विद्यालयको ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर शनिबार अविरयात्रा र गाडीमा नगर परिक्रमा गराई उनलाई सम्मानपूर्वक बिदाइ गरिएको हो ।
समारोह परशुराम नगरपालिका–२ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेशबहादुर बोहराको अध्यक्षता र परशुराम नगर प्रमुख भरत बडायर (जोशी) को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नगर परिक्रमापछि बिदाइ टोलीले बोहरालाई उनको घर परशुराम नगरपालिका–४, कटालसम्म पुर्याएको विद्यालयका प्रधानाध्यापक डम्बर बोहराले जानकारी दिए ।
२०८२ वैशाखमा अवकाश प्राप्त गरेका बोहराले २०४५ सालदेखि करिब ३५ वर्ष ९ महिना ११ दिन विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीमा रहेर सेवा गरे । प्रारम्भिक चरणमा ६ सय ७५ रुपैयाँ तलबबाट ३ कोठे कच्ची भवनबाट सुरु भएको विद्यालयमा आजसम्म निरन्तर सेवा दिँदै आएको उनले कार्यक्रममा स्मरण गराए । ‘भागेश्वरको माटोमै ३६ वर्ष बितेछ, पत्तै भएन,’ भन्दै उनले भूमि ढोगेर भावुक प्रतिक्रिया दिए ।
उनले विकट बस्तीका हजारौं विद्यार्थीलाई अध्यापन गराउँदै विद्यालयको शैक्षिक उन्नतिमा योगदान पुर्याएका थिए । सोही योगदानको कदर गर्दै विद्यालयले टीका, फूलमाला, दोसल्ला र कदर–पत्रद्वारा सम्मान गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि परशुराम नगरपलिकाका प्रमुख भरत बडायर (जोशी) ले बोहरालाई ‘भागेश्वर माविलाई आजको स्थानमा पुर्याउने एक योद्धा’ को संज्ञा दिँदै उनका योगदान स्मरण गरे । स्थानीयहरूले बोहराको नेतृत्व, योगदान र समर्पणले यहाँको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन आएको जनाउँदै बिदाइ कार्यक्रमलाई भावनात्मक र ऐतिहासिक क्षणका रूपमा व्याख्या गरे ।
