सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन स्थापना हुने

बैतडीकाे मेलौलीमा इलाका प्रशासन राख्ने निर्णयले तल्लाेस्वराड क्षेत्रका तीन वटा स्थानीय तहका बासिन्दालाई नागरिकता जस्ता अत्यावश्यक कामका लागि २५ सय रुपैयाँ भाडा तिरेर सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने छ ।

पुस १२, २०८२

मोहन चन्द

Area administration to be established in four places in the Far West

बैतडी — सरकारले सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिमा बैतडीको मेलौली, बाजुराको कोल्टी, डोटीको विपीनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । यस्तै ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, र संखुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

बैतडीको तल्लोस्वराड क्षेत्रका बासिन्दाको माग र लामो प्रयासपछि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । मेलौलीमा इलाका प्रशासन स्थापना गर्ने सरकारको निर्णयले स्थानीय खुसी भएका छन् । प्रशासन स्थापनाले तल्लोस्वराड क्षेत्रका बासिन्दालाई नागरिकतालगायत अत्यावश्यक कामका लागि दिनभर यात्रा गरेर सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । 

तल्लोस्वराड क्षेत्रमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिका पर्छन् । यो क्षेत्रबाट सदरमुकाम जान २ हजार ५ सय रुपैयाँ भाडा तिर्नु पर्छ । सरकारले जनशक्ति व्यवस्थापन गरेर चाँडो कार्यालय स्थापना गर्ने निर्णय कार्यान्वयनमा लैजानु पर्ने शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

योसँगै बैतडीमा दुई इलाका प्रशासन कार्यालय हुने छन् । यसअघि पुर्चौंडी नगरपालिकाको हाटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेको छ ।  

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully