अमरगढी नगरपालिकाले आगामी दिनमा नगरक्षेत्रमै ‘ज्येष्ठ नागरिक आवास गृह’ सञ्चालन गर्ने योजना अगाडि बढाइएको सामाजिक विकास अधिकृत साउदले जानकारी दिए ।
डडेलधुरा — डडेलधुराको अमरगढी नगरपालिकाले विपन्न परिवारका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नं. ७ र ८ का ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
नगरपालिकाका सामाजिक विकास अधिकृत लालबहादुर साउदका अनुसार, दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका ज्येष्ठ नागरिकलाई प्रेरणा र मनोबल दिने उद्देश्यका साथ सम्मान गरिएको हो । सम्मानस्वरूप प्रत्येक ज्येष्ठ नागरिकलाई २ हजार ५ सय रुपैयाF, दोसल्ला र स्वास्थ्यलाभका लागि चेवनप्रास वितरण गरियो ।
अमरगढी नगरपालिकाले आगामी दिनमा नगरक्षेत्रमै ‘ज्येष्ठ नागरिक आवास गृह’ सञ्चालन गर्ने योजना अगाडि बढाइएको सामाजिक विकास अधिकृत साउदले जानकारी दिए ।
आवासगृहमा नियमित रूपमा दिवा खाजाको व्यवस्था, योगा, मनोरञ्जन कार्यक्रम, सांस्कृतिक गतिविधि सञ्चालन तथा वाद्यवादनका सामग्रीमार्फत ज्येष्ठ नागरिकलाई सक्रिय र खुसी राख्ने वातावरण बनाउन तयारी भइरहेको छ ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकले आफूहरूप्रति देखाइएको चासोले हौसला पाएको र समाजमा आफ्नो अनुभव र पहिचानलाई स्वीकार गरिँदा आत्मसम्मान बढेको बताएका छन् ।
