बैतडीमा हराइरहेका साउद मृत फेला 

बुधबार साँझदेखि हराइरहेका शिवनाथ गाउँपालिका–२ सनकोट, खालका ५२ वर्षीय देवानसिंह साउद शुक्रबार दिउँसो मृत फेला परेका हुन् ।

पुस ११, २०८२

मोहन चन्द

Missing man Saud found dead in Baitadi

What you should know

बैतडी — बैतडीको शिवनाथ गाउँपालिका–२ सनकोट, खाल बस्ने ५२ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन् । 

बुधबार साँझदेखि हराइरहेका साउद शुक्रबार दिउँसो खाल नजिकैको भीर तलको खोलामा मृत फेला परेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । अध्यक्ष र मृतक साउद गाउँले हुन् । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले हत्या गरिएको आशंका गरेका छन् । 

कसरी फेला पर्‍यो साउदको शव ?

साउद बुधबार दिउँसो ४ बजेतिर घरबाट मासु ल्याउन जान्छु भनेर गाउँ नजिकैको पसलमा गएका थिए ।  साँझ अबेरसम्म घर नफर्केपछि घरका मान्छे पसलमा पुगेर पसलेसँग सोधपुछ गरेका थिए । मृतक साउद पसलमा मदिरा सेवन गरी घर जान्छु भनी घरतिर हिँडेको पसलेले बताएका थिए ।

घरका मान्छेले राति अबेरसम्म खोज्दा पनि कहीँ नभेटिएपछि बिहीबार खोजतलासका लागि प्रहरी चौकी सर्मालीमा निवेदन दिएका थिए । प्रहरीले मृतकको फोटोसहित खोजतलासको लागि सूचना जारी गरेको भए पनि घरका मान्छे, आफन्त र आफूसहित वडाध्यक्षले दिनभरि खोज्दा पनि कहीँ नभेटेको गाउँपालिका अध्यक्ष साउदले बताए ।

शुक्रबार दिउँसो साउदको घर जाने बाटोको ठिक विपरीत मदिरा सेवन गरेकै पसलेकै घर नजिकैको भीर तल खोलामा गोठालाहरूले उनको शव फेला पारेको उनले बताए । ‘देवानको घर जाने बाटोको विपरीततिर उनको शव भेटिएको छ,’ उनले भने, ‘मदिरा खाएको भएपनि घरतिर जानुको सट्टा उल्टो बाटो किन गए ?, घटना शंकास्पद छ ।’ मृतकको मुखमा घाउचोट देखिएको उनले बताए ।

शव भेटिएको खबर पाएलगत्तै जिल्लाबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलतिर जान लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलदेव बडूले बताए । टोली घटनास्थलमा पुगेपछि घटनाको विषयमा थप अनुसन्धान गरिने उनले बताए । 

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully