जेन-जी सहिदका घरमा साढे तीन महिनापछि सान्त्वना दिन पुगे सीडीओ

१२ कक्षा पास गरेर पढाइसँगै वैदेशिक रोगजारीको तयारी गर्ने योजना बनाएर हिँडेको १९ वर्षका दीपक गत भदौ २४ को जेनजी आन्दोलनमा काठमाडाैंकाे कालीमाटीमा गोली लागेर मृत्यु भएकाे थियो ।

पुस १०, २०८२

मोहन चन्द

CDO visits Gen-G martyr's home to offer consolation after three and a half months

What you should know

बैतडी — शिवनाथ गाउँपालिका–२ शर्मालीका जेन–जी सहिद दीपक साउँदको घरमा साढे तीन महिनापछि सान्त्वना दिन बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्यविक्रम पौडेल पुगेका छन् ।

१२ कक्षा पास गरेर पढाइसँगै वैदेशिक रोगजारीको तयारी गर्ने योजना बनाएर हिँडेको १९ वर्षका दीपक गत भदौ २४ को जेन-जी आन्दोलनमा काठमाडाैंकाे कालीमाटीमा गोली लागेर मृत्यु भएकाे थियो । पीडितकाे परिवारले सरकारले राहत रकम बै‌ंकमा उपल्बध गराए पनि घरमा सरकार र राजनीतिक दलका काेही पनि सान्त्वना दिन समेत नआएकाे गुनासाे गरेकाे थियाे ।  

सरकारले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा काठमाडौंलगायत विभिन्न ठाउँमा मृत्यु भएकालाई सरकारले उपलव्ध गराउने राहत र किरिया खर्च बाफतको एकमुष्ट १५ लाख रकम पनि जिल्ला प्रशासन कार्यालयले सहिद दीपकका बुबाको खातामा जम्मा गरिदिएको थियो । 

सीडीओ पौडेलले बुधबार दीपकको घरमा गएर परिवारजनलाई भेटेका हुन् । सरकारले सहिद घोषणा गरेपछि आफू दीपकको परिवारलाई सान्त्वना दिन उनको घरमा गएको सीडीओ पौडेलले बताए । ‘जिल्लामा रोजगारीको लागि उनको परिवारका सदस्यलाई प्राथमिकता दिन्छौं,’ उनले भने, ‘घरमा गएर उनको परिवारको बारेमा पनि बुझ्यौं ।’ 

गत कात्तिक १७ को मन्त्रिपरिषद् बैठकले दीपकसहित ४५ जनालाई सहिद घोषणा गरेको थियो । 
साढे तीन महिनापछि आफुहरुको अवस्था बुझ्न घरमा सीडीओ आउँदा सरकारले पनि आफूहरुलाई हेरेको जस्तो लागेको सहिद दीपकका बुबा कालु साउँदले बताए । भेटमा प्रजिअले गत भदौ २३ र २४ गते प्रदर्शनमा सहिद भएका जेन–जी सहिदहरुको नामावलीसहितको फोटोफ्रेम हस्तान्तरणसमेत गरेको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully