कैलालीमा एकै दिन २७० ले गरे रक्तदान

प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख धरणी पन्तका अनुसार कार्यक्रममा ४८ जना महिला र २२२ जना पुरुषले रक्तदान गरेका थिए ।

पुस ८, २०८२

रञ्जना बिसी

270 people donated blood in a single day in Kailali

What you should know

कैलाली — धनगढी उपमहानगरपालिका-५ को कार्यालयले सोमबार आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा २७० जनाले रक्तदान गरेका छन् । प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख धरणी पन्तका अनुसार कार्यक्रममा ४८ जना महिला र २२२ जना पुरुषले रक्तदान गरेका थिए ।

सहभागीमध्ये करिब २०० जनाले पहिलो पटक रक्तदान गरेका थिए भने बाँकी ७० जनाले पहिले पनि रक्तदान गरिसकेका थिए ।

वडा अध्यक्ष गजेन्द्र शाहीका अनुसार धनगढीमा रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष शाहीले युवाहरूको उच्च सहभागिताबाट उत्साहित बनेको उल्लेख गर्दै करिब डेढ हप्ताको तयारीमा यति ठूलो संख्यामा रगत संकलन गर्न सफल भएको बताए । ‘मानव जीवन बचाउने रक्तदानको महत्व बुझाउन हामी सफल भयौं,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत दीपक उपाध्यायले रक्तदानसँग सम्बन्धित सबै भ्रम तोडिएको बताए । उनी भन्छन्, ‘मानिसमा रगत दिनु हुँदैन वा दिएमा कमजोरी आउँछ भन्ने गलत विश्वास छ । आजको रक्तदान कार्यक्रममा झण्डै २०० जनाले पहिलो पटक रक्तदान गरेर यो भ्रम चिरेका छन् ।’

कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, खप्तड कलेज, सहारा होटेल म्यानेजमेन्ट, साई मा इन्स्टिच्युट लगायतका संस्थाका विद्यार्थी, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो । सो अवसरमा सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्का उपस्थित भएकी थिइन् । निसर्ग अस्पताल, नेपाल रेडक्रस सोसाइटी, एजी हेल्थ इन्डस्ट्रिज प्रा. लि. लगायतका संस्थाले कार्यक्रमलाई सहयोग गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी कैलालीका नरेन्द्र भट्टले ४६ जना महिला रक्तदाताको सक्रिय सहभागिता प्रेरणादायी रहेको बताए । उनका अनुसार करिब ९५ प्रतिशत रक्तदाता १८–२५ वर्ष उमेर समूहका नयाँ रक्तदाता रहेका छन् । यो ऐतिहासिक रक्तदानले केवल रगत संकलन मात्र नभई जीवन बचाउने आशा र विश्वासको बलियो संकेत दिएको उनको भनाइ छ ।

रञ्जना बिसी

Link copied successfully